काठमाण्डु, १० चैत – मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथीर मोहम्मदले एमाओवादी नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मलेसिया भ्रमणको निम्तो दिएका छन् ।
सोमबार साँझ होटल हायातमा भएको भेटमा पूर्वप्रधानमन्त्री महाथीरले भट्टराईलाई मलेसिया भ्रमणको निम्तो दिएका हुन् ।
भेटमा दुई पूर्वप्रधानमन्त्रीबीच आर्थिक तथा राजनीतिक विषयमा कुराकानी भएको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले जानकारी दिए ।
साथै अल्पविकसित देशको अन्तराष्ट्रिय सम्बन्ध र नेपालमा वैदेशिक लगानीका विषयमा पनि कुराकानी भएको थियो ।
सो अवसरमा पूर्वप्रधानमन्त्री महाथीरले देशको आर्थिक विकासका निम्ति सबैसँग मिलेर अघि बढ्न सुझाव दिए ।
सबै विचारभित्रका राम्रा प्रवृत्तिलाई आत्मसाथ गर्दै अघि बढेका कारण मलेसियाको आर्थिक विकास सम्भव भएको उनको भनाइ थियो । महाथीर गत शनिबार नेपाल आएका हुन् ।