
काठमाण्डु, १० चैत – एकीकृत माओवादीका नेता अग्नी सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उच्च स्तरीय राजनीतिक समितिको संयोजक बनाउनु पर्ने बताएका छन् ।
संविधानसभा भित्र र बाहिर रहेका दलहरुलाई समेट्न सक्ने नेता अध्यक्ष प्रचण्ड नै भएको भन्दै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाएर अघि बढे संविधान निर्माण सहज हुने दावी गरे ।
रिपोर्टर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा सापकोटाले भने, ‘प्रचण्डलाई संयोजक नबनाए धोका हुन्छ, त्यसो नगरे काँग्रेस र एमाले संविधान बनाउन चाहँदैनन भन्ने प्रष्ट हुन्छ ।’
संविधान बनाउने बेलामा स्थानीय निकायको निर्वाचनको कुरा उठाएर काँग्रेस–एमाले संघीयताबाट भाग्न खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ । सापकोटाले तत्काल उच्चस्तरीय राजनीतिक समिति र राजनीतिक संवाद समिति बनाउन मागसमेत गरेका छन् ।
सरकारले संविधान निर्माणको बातावरण बनाउनु पर्नेमा मुल्य वृद्धि गर्ने, संसदबाहिरबाट नीति तथा कार्यक्रम ल्याउने र स्थानीय निकायको निर्वाचन गर्ने कुरा गरिरहेको आरोप लगाउँदै उनले हिजोको सहमतिको स्वामित्व ग्रहण गर्ने विषयमा प्रचण्ड र प्रधानमन्त्रीले सही गरे पनि झलनाथ खनालले हस्ताक्षर गर्न ढिलाई गरेको प्रति असन्तुष्टि ब्यक्त गरे ।
द्धन्दकालको घटना उचाल्न भन्दा पनि आफूहरु मिल्न चाहेको उल्लेख गर्दै सापकोटाले मानवअधिकारको नाममा मिल्न नदिने षड्यन्त्र भईरहेको आरोप लगाए ।
नेकपा–माओवादीसँग अहिले कार्यगत एकता मात्रै भएको र सहकार्य गर्दै जाँदा पार्टी एकता समेत हुन सक्ने उनको भनाइ छ ।
साथै सापकोटाले बाबुराम भट्टराईले पार्टी भित्र सुरु गरेको बहस र माओवादीसँगको सहकार्य महत्वपूर्ण भएको बताए ।