
काठमाण्डु, १० चैत – कुष्ठरोगका लागि विश्व स्वास्थ्य सङ्गठनका सद्भावना राजदूत योही सासाकावा आज ललितपुरस्थित खोकना आरोग्य आश्रम गई कुष्ठप्रभावितको उपचार र पुनःस्थापनाका बारेमा जानकारी लिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा अन्य गैरसरकारी सङ्घसंस्थाद्वारा कुष्ठ प्रभावितको उपचार तथा पुनःस्थापनाका लागि सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिन उनी आइतबार नेपाल आएका थिए ।
पाँचदिने भ्रमणका क्रममा उनले नेपालबाट कुष्ठरोग उन्मूलनका बारेमा मन्त्रालय एवम् अन्य सरोकार भएका निकायसँग छलफलसमेत गर्ने मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख डा पद्मबहादुर चन्दले जानकारी दिए ।
डा. चन्दका अनुसार मन्त्रालयले कुष्ठरोग पहिचान, उपचार तथा पुनःस्थापनाका कार्यक्रम निःशुल्क रुपमा सञ्चालन गरिरहेको छ । सो अवसरमा सद्भावना राजदूत सासाकावाले नेपालले कुष्ठरोग उन्मूलनका क्षेत्रमा गरिरहेको प्रयास प्रशंसनीय रहेको बताए ।