
काठमाण्डु, चैत – यो वर्ष लगानी नउठाउने चलचित्रको सूची निक्कै लामो छ । चैतको पहिलो सातासम्म झण्डै १ सय ५ वटा चलचित्र प्रर्दशनमा आएका छन् ।
ति मध्ये जम्मा चारवटाले मात्रै लगानी उठाएका छन् । बाँकी अरु सबैले घाटाको व्यापार गरे ।
पछिल्लो बैशाख यता मात्रै सिनेमा उद्योगमा ८५ करोड लगानी भएको अनुमान छ ।
चलचित्रको लगातार असफलताले व्यवसायीक रुपमा लगानी गर्नेलाई निराश पारेको छ भने, चलचित्रकर्मीको पेशा नै अप्ठ्यारो अवस्थामा छ ।
केहि अघिसम्म कथाबस्तु र निर्माण शैली पूरानै भएकाले चलचित्रले बजार नपाएको तर्क गरिन्थ्यो ।
तर पछिल्ला दुई-तीन वर्षयता राम्रो प्रविधि, अब्बल अभिनय र राम्रा कथामा बनाइएका चलचित्र पनि डुबेका छन् ।
नायक राजेश हमाल परिवर्तित समयअनुसार अझै चलचित्र बन्न नसकेको बताउँछन् । हमाल भन्छन्, ‘प्रविधि सुहाँउदो फिल्म बनेका छन् तर कथाबस्तु अझै राम्रो गराउनु पर्छ ।’
व्यवसायीक रुपमा सफल भएका लुट र चपली हाइटपछि परम्परागत धारलाई छोडेर चलचित्र बन्दै आएका छन् ।
नाम चलेका अनि यो क्षेत्रमा पाका र अनुभविको छबि बनाएका धेरै चलचित्रकर्मीले बनाएका फिल्म फ्लपको सूचीमा छन् ।
चलचित्रले बाटो बिराएकै कारण असफल भएको तर्क गर्छिन् चरित्र अभिनेत्री मिथिला शर्मा ।
मिथिला भन्छिन्, ‘परिवारका सदस्यसँगै बसेर हेर्न मिल्ने चलचित्र थोरै भए, एउटा निश्चित उमेरकालाई लक्षित गरेर बने चलचित्र त्यसैले अप्ठ्यारोमा छ बजार ।’
नेपालमा महिना दिनमै झण्डै दशवटा चलचित्र प्रदर्शनमा आउँछन् ।
यसले संख्यात्मक वृद्धि त भएको छ, तर ति मध्ये सबैजसो हलमा एक हप्ता पनि टिक्दैनन् ।
आम दर्शकको मनोभावना बिपरित चलचित्र बनेका कारण यस्तो अवस्था आएको बताउँछन् नेपाली चलचित्रलाई सुक्ष्म रुपमा बिश्लेषण गरेका डाक्टर टिकाराम पोखरेल । ०६९ सालमा पनि चलचित्रले बजार तताउन सकेको थिएन् ।
त्यतिबेला पनि एक सयको हाराहारीमा चलचित्र फ्लप भएका थिए । चलचित्र चल्ने केही तरिका छन् ।
नाम चलेका नायक-नायिकाको अभिनय र गीतसंगीतले ।
तर नेपालमा न कुनै हिरो हिरोइनका कारण चलचित्र चल्छ न त प्रविधि र प्रयोगले ।
त्यसैले पछिल्लो समयमा नेपालमा चलचित्रको संख्या त बढेको छ, सँगै डुबाउने र कहिल्यै फर्केर नआउने निर्माताको संख्या पनि ।
यो वर्ष लगानी उठाउने चलचित्रमा छ एकान छ, झोला, काली र होस्टेल मात्रै छन् ।
चलचित्र वितरक सुनिल मानन्धर यी चलचित्र राम्रा भएर चलेको नभइ चिट्टा परेको तर्क गर्छन् ।
समग्रमा भन्नुपर्दा २०७० साल पनि नेपाली चलचित्रका लागि शुभ रहेन् ।