
बागलुङ, १ चैत – विदेश गएका नेपाली कामदारहरुले पठाउने रकम एक तिहाईभन्दा धेरै दरले बढेपछि चरम व्यापार घाटा सहन वाध्य नेपालको भुक्तानी सन्तुलनमा निकै धेरै फाइदा देखिएको छ।
राष्ट्र बैँकले जारी गरेको साउनदेखि माघसम्मको आँकडा अनुसार यसबीच नेपालले आफ्ना भएभरका वस्तु र सेवा बेचेर कमाएको पैसाबाट तमाम आयात तथा अन्य खर्च कटाउँदा पनि झण्डै एक खर्ब रुपियाँ वचत गर्न सक्षम भएको छ।
वर्षको पौने ६ खर्ब रुपियाँसम्म व्यापार घाटा सहन वाध्य नेपाललाई उसका कामदारले विदेशमा कमाएर पठाउने रेमिटेन्स रकम वरदान सावित भएको यो अर्को उदाहरण हो।
यस आर्थिक वर्षको पहिलो सात महिनाको स्थिति हेर्दा नेपालको आयात र निर्यातबीचको फरक करीब ३ खर्ब ४० अर्ब रुपियाँ छ।
जबकि यही समय रेमिटन्सबाट मात्रै नेपालले ३ खर्ब १२ अर्ब रुपियाँ कमायो।त्यसबाहेक सेवा व्यापार अनि पर्यटनको आय वृद्धि तथा विदेशी सहायता समेत जोड्दा देश भित्रिने र बाहिरिने रकम अर्थात भुक्तानी सन्तुलन ९५ अर्ब रुपियाँले बचतमा रह्यो।
राष्ट्र बैँकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी भन्छन्, “व्यापार सन्तुलनको मात्रै अवस्था त भयावह छ, तर वैदेशिक रोगजारीमा गएका कामदारले प्रत्येक वर्ष पठाउने झण्डै साढे चार खर्बले हामीलाई सन्तुलनमा सघाएको छ।”
विदेशमा काम गर्नेहरुकै परिश्रमको फलस्वरुप नेपालको विदेशी मुद्रा सञ्चिति पनि ६ खर्ब ५० अर्ब रुपियाँ बराबर पुगेको छ।
नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पनि उत्तिकै प्रगति गर्न सके देशको आर्थिक मुहार फेरिन सक्ने यी आँकडाहरुले देखाएको जानकारहरुको भनाई छ। BBC