
काठमाण्डु, ३० फागुन –हाँस्य टेलिश्रृखंला मेरी बास्सैका प्रमुख पात्र सीताराम कट्टेल ‘धुर्मुश’ र कुञ्जना घिमिरे ‘सुन्तली’ बाउआमा बनेका छन् ।
यी दम्पत्तिलाई पहिलो सन्तानका रुपमा शुक्रबार पुत्री लाभ भएको हो ।
सुन्तलीले शुक्रबार बिहान साढे सात बजे काठमाण्डुको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा छोरी जन्माएकी हुन् ।
चिकित्सकले सुन्तलीको शल्यक्रिया गरेर बच्चा निकालेका थिए । बाबु बनेपछि काठमाण्डु टुडेसँग कुरा गर्दै धुर्मुसले छोरीका रुपमा घरमा लक्ष्मी भित्रिएको बताए ।
‘हाम्रो घरमा छोरीका रुपमा लक्ष्मी आएकी छन्’, धुर्मशले भने, ‘आजको दिन हाम्रा लागि खुसीको दिन हो ।’ छोरीको नाम के राख्ने भन्ने प्रश्नमा ठट्यौली पारामा उनले भने, ‘न्वारन नहुँदासम्म मिनी सुन्तली ।’
नियमित चेकजाँचका क्रममा चिकित्सकले ‘सुगर’ रोग रहेको बताएपछि सुन्तलीलाई एक महिनाअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।