
दौरा सुरुवाल,ढाका टोपी र गुन्यू चोली लगाएकाको भींड ।
पृष्ठभूमिमा लोकगीत बजिरहेको छ । आडैमा संस्कृतिविद् सत्यमोहन जोशी, लोक दोहोरीका केही गायक र केही सभासद् । दर्शकले हल भएिको छ ।
लोकसंगीत भन्दा बाहिरका चर्चित अनुहार अगाडीपट्टी लहरै बसेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको १२औं बार्षिकोत्सको दृश्य थियो यो ।
प्रमुख अतिथि थिए संविधानसभाका अध्यक्ष सुवाश नेम्वाङ्ग । सभामुख भइसकेपछि औपचारिक कार्यक्रममा नहिड्ने बताएका सभामुख प्रतिष्ठानको कार्यक्रममा भने पुगे ।
हतार हतार देखिएका नेम्वाङ्गले उद्घाटन गरेलगत्तै कार्यक्रमबाट हिड्ने मन गरे । उनको स्वागतमा देखाइएको एउटा मयुर नाच सम्म हेर्न भ्याए ।
कार्यक्रममा संचालन गर्दै गरेका रमेश बिजीले प्रमुख अतिथि बनेका नेम्वाङ्गलाई मञ्चमा शुभकामना र मन्तव्यका लागि बोलाए ।
बोल्ने पालो आयो नेम्वाङ्गको । नेम्वाङ्गले भूमिका नबाँधी अपवाद बाहेक अरु कार्यक्रममा नजाने गरेको बताए ।
उनले भने‘ मनमा तपाईहरुको कार्यक्रम हेरुँ हेरुँ जस्तो लागेको छ, तर म बधाई र शुभकामना दिएर जानुपर्ने छ । ’ उनले थपे हामीले जति हाम्रा कुरा जनतालाई बुझाउन गाहे हुन्छ तर, कलाकारले थोरै गीतमा धेरैको मन बुझाउन सक्छन् ।
उनको आशय गीतमा चेतना र जनताको रुचि छ भन्ने थियो । गीतसंगीतबाट पहिलोपटक संबिधानसभामा पुगेका सभासद्लाई सम्मान गर्ने कार्यक्रम पनिभएकाले चारजना सभासदमा उनीसँगै मञ्चमा थिए ।
जेवि टुहुरे, मधु गुरुङ्ग, सिन्धु जलेशा, र तप्तबहादुर बिष्ट । नेम्वाङ्गले भने ‘म गीत गाउन ढंग नपुर्याउने भए पनि गीत मन पराउने व्यक्ति भित्र पर्छु ।’ सभामुखको यति कुरा मुखबाट निस्कने बित्तिकै तालिको गडगडाहट भयो ।
फेरि मुस्कुराउँदै बोल्न थाले नेम्वाङ्ग । र, भने ‘म पनि गायक चैं हुँ , तर उहीं किचन र बाथरुम सिंगर मात्रै हुँ । तर मलाई गीत सारै मन पर्छ । ’ त्यसपछि धेरै हाँसे, उत्तिले ताली पिटे ।
उनले बोल्नुभन्दा पहिले स्वागत भाषण गरेका थिए गायक बद्री पंगेनीले । बद्रीले कलाकारका दुख मर्का सुनाए ।
त्यो सुनेका सभामुख नेम्वाङ्गले भाषणकै क्रममा थपे ‘ मेरा कार्यक्रमम र चुनावका बेला धेरै कलाकार पुगेर गीत गाइदिनुभएको छ । मेरा भाई बद्री पंगेनी इलाम नै पुगेर मेरा कार्यक्रममा गीत गाइदिनुभएको छ ।
त्यसैले सवै कलाकारलाई धन्यवाद। अरु बेला भेटेर धन्यवाद दिन नपाएकाले एकमुष्ठ मञ्चबाटै धन्यवाद दिएको उनको तर्क थियो । ०६२ – ०६३को जन आन्दोलनमा कलाकारसँगै सडकमा उत्रिएको स्मरण समेत गरे नेम्वाङ्गले ।
नेम्वाङ्ग आफू चौविसै घण्टा आन्दोलनमा कलाकारसँगै भएको सुनाए ।
कलाकारितामा लागेका केही सभासद भएको प्रसंग कोट्याउँदै सभामुख सुवाश नेम्वाङ्गले भने, संविधानमा तपाईहरुका कुरा पर्नुपर्छ , म सहयोग गर्छु ।