
किभ, २० फागुन – अमेरिका र रसियाकाबीचमा हुँदैआएको सैनिक सहयोग र आदानप्रदान सम्बन्धी कार्य अमेरिकाले हालका लागि स्थगित गरेको छ ।
हालैमात्र युक्रेनमा भएको विद्रोहपछि युक्रेनको क्रिमियाली प्रायद्वीपमा रसियाले सेना पठाएको भन्दै अमेरिकाले एकतर्फी रुपमा सो सैनिक सहयोग र समन्वयको काम बन्द गर्ने बताएको हो ।
सोमबार राति अमेरिकी रक्षा मन्त्रालयले सो जानकारी गराएको हो । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता रियर एडमिरल जोन किर्बीले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । उनको सो विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका र रसियाली सैनिकका बीचमा हुँदैआएको सहयोग र समन्वयको काम बन्द गरिएको छ ।’
युक्रेनको क्रिमिया प्रायद्वीपमा हालै रसियाले गरेको सैनिक हस्तक्षेपको विरोध गर्दै अमेरिकाले सो सैनिक समन्वयको काम हालका लागि स्थगित गरेको समाचारमा जनाइएको छ ।
उक्त समाचारमा जनाइए अनुसार यसअघि पनि अमेरिकी र रसियाली राष्ट्रपतिका बीचमा युक्रेनका विषयमा वार्ता भएको र सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनमा सेना नपठाउन आग्रह गरेका थिए ।
यसैबीच युक्रेनमा जारी विवादकाबीच अमेरिकी विदेश मन्त्री जोन केरीले युक्रेन भ्रमण गर्दैछन् ।
युक्रेनको हालको नेतृत्वका लागि नैतिक बल दिनका लागि उनले सो भ्रमण गर्न लागेका हुन् । युक्रेनमा गतहप्ता भएको सो विद्रोहपछि त्यहाँको सरकारलाई मान्यता दिनका लागि गरिन लागेको यो नै सबैभन्दा उच्च विदेशी अधिकारीको भ्रमण हो ।