
काठमाण्डु, १२ फागुन – नेपाल टेलिभिजनबाट नियमित प्रसारण हुने हांस्य टेलिश्रृखंलाहरु चरम आर्थिक संकटमा परेका छन् ।
सबैलाई पेट मिचिमिचि हसाँउने कलाकारलाई कार्यक्रम साप्ताहिक रुपमा चलाउन कम्ति मुश्किल छैन् । आर्थिक अभाव, लोडसेडिङ्ग र देश-विदेशका कार्यक्रममा पुग्नु पर्ने हुँदा मेरीबास्सै, तितो सत्य र जिरे खुर्सानीका पछिल्ला भागहरु खल्लो देखिन थालेका छन् ।
कार्यक्रमको व्यस्तता माथि चरम आर्थिक संकटले तिते, जिरे, मेरीबास्सै अस्तित्वको लडाईमा छन् यतिवेला ।
नेपाल टेलिभिजनबाट हरेक सोमबार, मंगलबार र विहीबार राति नौं बजे प्रसारण हुने, जिरे खुर्सानी, मेरीबास्सै र तितो सत्यलाई सुटिङ्ग गर्न समेत धौ-धौ परेको छ ।
त्यसैले उनीहरुले स्वदेश र विदेशमा हुने मेला महोत्सवमा खिचेका दृश्यलाई टेलिश्रृखंलामा देखाएका छन् । मेरीबास्सैका केदार घिमिरे ‘माग्ने बुढा’ र विल्सनविक्रम राई ‘तोक्मे बुढा’ देखिने दृश्य धेरै विदेश कार्यक्रममा जाँदाका छन् ।
त्यस्तै सिताराम कट्टेल ‘धुर्मुश’ले नेपालमै आफू गएका ठाउँमा नै सुटिङ्ग गर्न थालेका छन् । यसको कारण हो जनशक्ति र खर्च कम गर्न । तर धुर्मुशको कुरा भने बेग्लै छ, ‘जुन स्वाद घट्यो भनिएको छ, त्यो लोडसेडिङ्गले हो ।’ उनका अनुसार मेला महोत्सव र स्थानीय ठाउँको प्रचारका लागि सुटिङ्ग उतै गरिएको हो ।
तर कुराको चुरो भने बेग्लै छ । तितो सत्य, मेरीबास्सै र जिरे खुर्सानीसंग नेपाल टेलिभिजनमा कार्यक्रम देखाउन समय किनेको ‘मिडिया हव’ले समयमा रकम नदिएको कारण यस्तो अवस्था आएको हो ।
स्रोतका अनुसार मिडिया हवले डेढ बर्षदेखि उनीहरुलाई पैसा दिएका छैन् । जिरे खुर्सानीका निर्देशक तथा कलाकार जितु नेपाल समयमा पैसा नपाएको स्वीर्काछन् । जितु भन्छन् ‘ठूलो कुरा पैसा हो, समयमा नपाएको पनि सांचो हो ।’ तितो सत्यमा दीपकराज गिरी र दीपाश्री निरौलासंगै नदेखिएको झण्डै महिना दिन भैसक्यो ।
नेपाल थप्छन्, ‘दीपा, दीपक र माग्ने बुढाहरु किन देखिनु भएन त्यो थाहा भएन तर, जिरे खुर्सानीको साख घट्न दिए जस्तो लाग्दैन ।’
मिडिया हवले एक भाग बराबार तितो सत्यलाई एक लाख पचपन्न हजार, जिरे खुर्सानीलाई एक लाख पैतालिस हजार र मेरी बास्सैलाई एक लाख रुपैयाँ दिने गरेको थियो । त्यसैको आधारमा हांस्य टेलिश्रृखंला चम्केका थिए । अहिले त्यसरी दिने रकम मिडिया हवले दिन सकेको छैन् । तर जितु नेपाल भने बिज्ञापन एजेन्सीको बाध्यता बुझिदिएको बताउँछन् । आफूहरु पर्ख र हेरको अवस्थामा भएको उनको भनाई छ ।
झण्डै एक वर्षअघि पनि मिडिया हवले रकम दिन नसक्दा केही हांस्य टेलिश्रृखंलाले पुरानै कार्यक्रम दोहोर्याउँदै आएका थिए । तिते, जिरे, मेरीबास्सैमा व्यवस्थापनको जिम्मेवारी लिएका एक कर्मचारीले भने ‘बन्द गरे बेइज्यत हुन्छ, सुटिङ्ग गर्ने खर्च जुटाउनै मुश्किल छ, कलाकारले मेला महोत्सव र विदेशबाट कमाएको पैसाले कति दिन चल्छ ? ’