
काठमाण्डु, २५ माघ – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बहुप्रतिक्षित खेल शनिबार हुँदैछ । साविकको विजेता थ्रीस्टार र लिग लिडर मनाङमर्स्याङ्दी क्लव आमने–सामने हुँदैछ ।
खेल अपराह्न ३ बजे दशरथ रंगशालामा हुनेछ । जारी लिगमा सशक्त प्रदर्शन गरिरहेको मनाङले थ्रीस्टारसँगको अंक दुरी बढाउने प्रयास गर्दा थ्रीस्टार अन्तर २ अंकमा झार्ने प्रयासमा हुनेछ ।
घरेलु फुटबलमा मनाङ र थ्रीस्टारबीचको भिडन्तलाई निकै महत्वका साथ हेर्ने गरिएको छ । गत सिजन थ्रीस्टारले उपाधि जित्दा मनाङले उपविजेतामा चित्त बुझाएको थियो ।
यस पटकपनि यीनै दुई टिमलाई उपाधि दावेदारको रुपमा हेरिएको छ । थ्रीस्टार विरुद्धको खेल जितेमा मनाङ उपाधिको निकै नजिक पुग्नेछ । लिग अन्तर्गत प्रारम्भिक चरणको यो नै अन्तिम खेल हो ।
यसपछि सुपरसिक्समा पुग्ने टिमहरुबीच पुनः लिग हुनेछ ।
यसअघि शनिबार नै हुने पहिलो खेलमा फ्रेण्ड्स र ब्वाइज युनियन क्लव आमने–सामने हुनेछन् । सुपरसिक्समा पर्न नसकेको फ्रेण्ड्स र बी डिभिजनमा घटुवा भएको ब्याइज युनियनबीचको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ ।