ओखलढुङ्गा, २४ माघ – जिल्ला अदालत ओखलढुङ्गाले नेकपा एमालेका नेता छविलाल कार्कीको हत्याका पाँच अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजलासले सो फैसला गरेको हो ।
पूर्पक्षमा रहेका एमाओवादीका कार्यकर्ताहरु पोखरे गाविसका यदुनाथ घिमिरे, दियाले–९ का टिकाराम भुजेल, पोखरे गाविसकै विमर्शराज घिमिरे, तलुवा गाविसका नवराज बस्नेत र कार्कीका दाजु चन्द्रबहादुर कार्कीलाई जन्मकैदको सजाय तोकिएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए ।
सोही मुद्दामा तारेखमा रहेका ठूलाछाप गाविसका देवबहादुर कटवाल र दिलबहादुर सार्की तथा भदौरे गाविसका लालबहादुर भुजेललाई तीन वर्षको कैद तोकिएको छ ।
उक्त मुद्दामा किटानी जाहेरी परेर फरार रहेका एमाओवादीका कार्यकर्ताहरु बाबुराम सुवेदी, दिपक कटवाल, तारा सिके लगायत सात जनाको मुद्दा अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी मुलतवीमा राखिएको छ । मुद्दाको फैसलापछि वादीका तर्फबाट बहस गरेका अधिवक्ता नानीबाबु बुढाथोकीले पीडितले न्याय पाएको प्रतिक्रिया दिए ।
एमाले नेता कार्कीको २०६७ असार २४ गते हत्या भएको थियो ।