
काठमाण्डु, १ माघ – आर्थिक वर्ष २०७२/७३ भित्र ४५६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम अघि बढाइएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना आगामी वर्ष पूरा हुने सम्भावना क्षीण भएको छ ।
सोह्र किलोमिटरमध्ये करिब १२ किलोमिटर सुरुङ निर्माण भई निर्धारित समयमै बिजुली निकालेर सुक्खा याममा दैनिक चारघन्टा विद्युतभार कटौती गर्ने योजनामा मुख्य सुरुङको ‘स्लोप’ परिवर्तन गर्नुपर्ने जटिल परिस्थिति आएपछि तत्काल आयोजना सम्पन्न हुने सम्भावना कम भएको हो ।
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको राष्ट्रिय गौरवका २१ वटा आयोजनाको प्रगति विवरणअनुसार भूमिगत विद्युतगृह र ट्रान्सफर्मर क्याभर्न सिलिङको केही क्षेत्रमा कमजोर चट्टानका कारण स्लोप परिवर्तन गर्न परामर्शदाताले आयोजनालाई सिफारिस गरेको छ ।
मुख्य सुरुङको अन्तिम खन्ड (पेनस्टक एरिया)मा समस्या उत्पन्न भएपछि त्यो समाधान नगरी आयोजनाको काम अघि नबढ्ने भएकाले ‘डिजाइन’ संशोधन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यसो गर्दा एक अर्ब ९४ करोड लाग्ने सम्बन्धित क्षेत्रका जानकारहरूले जनाएका छन् ।
आयोजनास्थलसम्म पुग्न २९ किलोमिटर लामो बाटो निर्माण भइसकेको छ भने, आयोजनाको ५० प्रतिशतभन्दा बढी काम भइसकेको छ । परियोजना निर्माणको क्रममा हालसम्म १३ अर्बभन्दा बढी खर्च भएको छ ।
सरकारले चार अर्ब ७० करोड ४१ लाख, आन्तरिक ऋणतर्फ २० अर्ब र शेयर लगानी १० अर्ब ५९ करोड गरी ३५ अर्ब ७० लाख लागत अनुमान गरिएको उक्त आयोजनाको डिजाइन संशोधन गर्दा झन्डै दुई अर्ब लागत बढ्ने छ ।
राष्ट्रिय गौरवको उक्त आयोजनामा नागरिक लगानी कोष, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, सर्वसाधारण र आयोजनास्थल दोलखाका बासिन्दालगायतको सेयर छ ।
आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि वार्षिक १० अर्ब आम्दानी हुने बताइएको छ । प्राधिकरणले चार रुपैयाँ छ पैसा प्रतिकिलोवाट युनिटका दरले विद्युत् खरिद सम्झौता पनि गरिसकेको छ ।