
काठमाण्डु, १८ पुस– समानुपातिक सभासद चयनको विषयमा असन्तुष्टी जनाउँदै राप्रपा नेपाल त्यागेका नेता टंक ढकालले आफू राप्रपा नेपालमै फर्किएको बताएका छन् ।
रिपोटर्स क्लवले गरेको कार्यक्रममा ढकालले राप्रपा नेपालका असन्तुष्ट नेता कार्यकर्ता गल्ती स्विकार्दै पुनः पार्टी प्रवेश गरेको बताए ।
नयाँ पार्टी खोल्ने अभियान सञ्चालन गर्नु आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो भुल भएको भन्दै ढकालले आत्मालोचनासहित आफूहरु राप्रपा नेपालमै फर्किएको स्पष्ट पारे ।
‘असन्तुष्टीलाई पार्टीको आन्तरिक छलफलको विषय नबनाई नयाँ पार्टी गठनको लागि निर्वाचन आयोग कुद्नु गल्ती भयो,’ ढकालले भने, ‘त्यसलाई महसुस गर्दै हामि आत्मालोचनासहित राप्रपा नेपालमै फर्किएका छौं । पार्टी विभाजन भएको छैन ।’
ढकालले असन्तुष्टहरुको आग्रहलाई अस्विकार गर्न नसक्दा आफूबाट गल्ती भएको भन्दै अब पार्टीलाई पद्धतीबाट चलाउने र कमिकमजोरी हटाउँदै लैजान संघर्ष गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
उनले पार्टीका कार्यकर्ता र नेताहरुले विभाजन नगर्न आग्रह गरेकोले उनीहरुकै भावनाको कदर गर्दै आफू फकिएको दावी समेत सो अवसरमा गरे ।
कार्यक्रममा नेता मोहन श्रेष्ठले पार्टीको माया र जनताको चाहनाका कारण विभाजन गर्न खोज्ने षडयन्त्र असफल भएो भन्दै पार्टी भित्रको विवाद समाप्त भएकोले अब पार्टी एक भएको दावी गरे ।