रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १२:२३ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा दुई एजेन्डामा छलफल भएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो भारत भ्रमण र सरकारको काम कारबाहीबारे सुझाव लिन बैठक आह्वान गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकबाट बाहिरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लामिछानेले भारत भ्रमणबारे जानकारी गराउने र सरकारको अहिलेसम्मका कामकारबाहीबारे टिप्पणी र सुझाव लिनका लागि बोलाइएको बताएको जानकारी दिएका छन ।

‘पहिलो कुरा सबै दललाई भेटघाट गरेर राम्रो सुरुवात भएको छ, यसले निरन्तरता पाओस् भन्यौँ,’ बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग लिङ्देनले भने, ‘भारत भ्रमणको सन्दर्भमा भने हामीले जानु अगाडि नै भेट भएको भए राम्रो हुन्थ्यो भन्यौँ।’ लिङदेनले आफूले वैदेशिक सम्बन्धका सन्दर्भमा अपरिपक्व व्यवहार नदेखाउन बैठकमा आग्रह गरेको समेत बताएका छन ।

‘वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहारहरू देखाउन भएन । देश जित्नेको मात्रै होइन हार्नेको पनि हो । सरकारले गर्ने गलत क्रियाकलापको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ। त्यसकारण परिपक्व व्यवहार गरियोस् । चाहे प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको मन्तव्य होस् अथवा रास्वपाको सवालमा परराष्ट्रमन्त्री भारतमा गएर हामीले विगतको भारी बोक्दैनौँ भन्नुभएको कुरा होस्। त्यसले धेरै अर्थ राख्छ भन्ने सुझाव राखेँ,’ उनले भने ।

लिङ्देनले परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको क्रममा ‘पुरानो भारी नबोक्ने’ भन्ने अभिव्यक्तिमा पनि आफूले प्रश्न उठाएको समेत बताएका छन ।

उनले भने, ‘हामीले लिम्पियाधुरा, लिपुलेक कालापानी हाम्रो हो भनेर ऐतिहासिकता तथ्य प्रमाणको आधारमा सर्वसम्मतिले संविधानमा राखेको कुरा छ । त्यो पनि बोक्दिन भन्ने अर्थ लाग्न सक्छ,’ लिङदेनले सञ्चारकर्मीहरूसँग भने ।

लिङदेनले प्रतिपक्षी दलहरू कमजोर छन् भन्दैमा संविधानको व्यवस्थालाई अनदेखा नगर्न सुझाएको पनि जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us