
काठमाण्डु, १८ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फका सभासदको सूची सच्याउन दलहरुलाई दिएको समयसीमा विहीबार सकिदै छ । दलहरुले आयोगमा बुझाएको सूचीबाट सभासदको नामावली कार्यालय समय भित्र हेरफेर गर्न सक्नेछन् ।
हालसम्म २९ वटा दलहरुले आफूले पाएको सिट अनुसार समानुपातिक सभासदको सूची आयोगमा बुझाएका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलमध्ये मधेसी जनअधिकार फोरम नेपालले मात्र सूची बुझाउन बाँकी छ ।
आयोगमा प्राप्त सभासदको सूचीको अध्ययन गरी शुक्रबार भित्र राष्ट्रपति रामवरण यादव समक्ष बुझाउने तयारी भैरहेको छ । राष्ट्रपति समक्ष बुझाएपछि त्यसलाई राजपत्रमा प्रकाशित गरिने छ । त्यसपछि संविधानसभाको बैठक आह्वान हुने छ । पहिलो बैठक राष्ट्राध्यक्षले गर्ने की सरकार प्रमुखले गर्ने भन्नेमा भने विवाद छ ।