
सोलुखुम्बु, १७ पुस । सामान्यतया माघ महिनाको मध्यबाट स्याउमा फूल फुल्न थाल्छ तर जिल्ला बागवानी केन्द्र फाप्लुमा भने अहिले स्याउ फुलेको मात्र हैन फल समेत लागिसकेको छ ।
केन्द्रको बगानमा रहेको लोचेलिङ जातको स्याउको बोटमा मङ्सिरमा फूल फुलेको र अहिले फल लाग्न थालेको बागवानी केन्द्र फाप्लुका सहायक प्राविधिक उपेन्द्र ठाकुरले बताए । उनका अनुसार बोटमा फलेको फल सामान्यतया राम्रोसँग बढिरहेको छ । प्राविधिक ठाकुरका अनुसार जिल्ला बागवानी केन्द्र फाप्लुमा विगत पाँच वर्षदेखि स्याउ फुल्ने सिजन अगावै स्याउमा फूल फुल्न थालेको छ ।
विगतका वर्षमा फूल फुलेपनि दाना कम रहने गरेकामा यसबर्ष भने स्याउको फलसमेत रहेको छ । पछिल्लो समयमा बढ्दो तापक्रमका कारण बेमौसममा स्याउको फल लागेको हुन सक्ने प्राविधिक ठाकुरको भनाइ छ ।
जलवायु परिवर्तनको कारणले गर्दा मौसम अगावै स्याउ फल्न थालेको बागवानी केन्द्रका कर्मचारीको भनाइ छ । जिल्लाको तल्लो क्षेत्रमा रहेको सुन्तलाखेतीमा समेत जलवायु परिवर्तनको असर देखिएको उनीहरू बताउँछन् ।
पहिले सामान्य उत्पादन हुने माथिल्लो क्षेत्रको सुन्तलाले अहिले राम्रो उत्पादन दिन थालेको र तल्लो क्षेत्रमा कम उत्पादन हुन थालेको कृषकको भनाइ छ । रासस