प्रचण्डविरुद्ध भट्टराई–श्रेष्ठ गठबन्धनको कसरत

काठमाण्डु टुडे २०७० पुष १६ गते १२:१७ मा प्रकाशित

baburam-narayankaji2काठमाण्डु, १६ पुस– एकीकृत माओवादीका नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गठबन्धन निर्माणको प्रयास भएको छ ।

सोमबार निर्वाचन आयोगमा पार्टीकोतर्फबाट बुझाइएको समानुपातिक सभासदको सूचीप्रति तीव्र असन्तुष्टि जनाएका दुई नेताहरु अध्यक्षविरुद्ध गठबन्धन निर्माणको तयारीमा जुटेका हुन् ।

आफूले मागेजति सभासद नपाएपछि भट्टराई र श्रेष्ठ अध्यक्ष प्रचण्ड विरुद्ध मोर्चाबन्दीमा लागेको संस्थापन पक्षको आरोप छ ।

मंगलबार दिउँसो आफू निकटका नेताहरुसँग छलफल गरेका दुवै नेताहरुबीच साँझ भेटवार्ता भएको हो । स्रोतका अनुसार दुवै बैठकबाट अध्यक्ष प्रचण्ड विरुद्ध समानुपातिक सूची सच्याउन दबाब दिन एक भएर अघि बढ्ने निर्णय भएको थियो ।

आफ्ना गुठको यस्तो निष्कर्षपछि दुई नेताबीच गठबन्धन बनाएर दाहाललाई दबाब दिने तयारीस्वरुप भेट भएको हो ।

भट्टराई र श्रेष्ठ प्रतिस्पर्धी

पार्टीभित्र एक अर्काका प्रतिस्पर्धि मानिने दुबै नेता अध्यक्ष प्रचण्डको नजिक बन्न एक अर्का विरुद्ध उभिँदै अएका छन् । पार्टीका हरेक संगठनमा श्रेष्ठले भट्टराईकै बराबरी हैसियत खोज्ने र भट्टराईले श्रेष्ठ भन्दा आफूले धेरै भाग पाउनुपर्ने माग गर्ने गरेका छन् ।

गएको चुनावमा गोरखा क्षेत्र नं २ मा श्रेष्ठले उम्मेदवारी दिन खोजेपनि भट्टराईले श्रेष्ठलाई रोकेका थिए । भट्टराईले आफूले यस अघि सबैभन्दा धेरै मत ल्याएर जितेको क्षेत्रमा श्रेष्ठलाई रोकेपछि माओवादीले पार्टी कार्यालयका सचिव हितराज पाण्डेलाई उम्मेदवार बनाएको थियो भने भट्टराई गोरखा क्षेत्र नं १ बाट उम्मेदवार बनेका थिए ।

भट्टराईको विरोधपछि श्रेष्ठ मकवानपुर क्षेत्र नं २ बाट चुनाव लडेका थिए । भट्टराई नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्री समेत बनेका श्रेष्ठले भारतसँग गरिएको बिप्पा सम्झौताको चर्को विरोध गर्दै आएका छन् ।

श्रेष्ठले निर्वाचन लगत्तै बसेको एकीकृत माओवादीको केन्द्रीय समिति तथा पूर्वपोलिटब्युरो बैठकमा समेत उक्त विषयमा भट्टराईले राष्ट्रघात गरेको आरोप लगाउँदै उनको चर्को आलोचना गरेका थिए ।

नयाँ गठबन्धनको संकेत

यसअघि पनि अध्यक्ष प्रचण्ड विरुद्ध तत्कालिन भट्टराई र श्रेष्ठसँगै अर्का उपाध्यक्ष मोहन वैद्य मिलेर यस्तै गठबन्धन गरेका थिए । सोही गठबन्धनको जगमा उभिएर भट्टराई प्रधानमन्त्री बनेका थिए । भट्टराईले सरकार गठनका बेला मधेसी मोर्चासँग ४ बुँदे सहमति गरेपछि अलग भएको वैद्य समूहले नयाँ पार्टी नै गठन गरेको थियो ।

माओवादी भित्र धोबिघाट गठबन्धनलाई पार्टी फुटको कारण मानिन्छ । हेटौंडामा सम्पन्न सातौं महाधिवेशनमा यो विषयमा अध्यक्ष प्रचण्ड निकटका नेताले कुरा उठाए पनि भट्टराई र श्रेष्ठले नै सांगठनिक महाधिवेशनमा उठाउने भन्दै तत्कालका लागि रोकेका थिए ।
एमाओवादीको सांगठनिक महाधिवेशन आउँदो फागुनमा हुँदैछ । एकीकृत माओवादीको विघटित केन्द्रीय समिति लगायत सबै समितिहरुमा अध्यक्ष प्रचण्ड पक्षको बहुमत छ ।

‘यो अपवित्र गठबन्धन हो,’ अध्यक्ष प्रचण्ड निकटका एक पूर्वपोटिब्युरो सदस्यले काठमाण्डु टुडेसँग भने, ‘अध्यक्षलाई कमजोर बनाउने उहाँहरुको रणनीति मात्रै हो ।’ । उनले यसलाई धोविघाट गठबन्धनको नयाँ संस्करणको संज्ञा दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us