
काठमाण्डु, १६ पुस – समानुपातिक सभासद चयनका विषयमा दलहरुमा तिब्र अशन्तुष्टि देखिएको छ । सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी लगायतका दलहरुमा अशन्तुष्टि बढेको हो ।
काँग्रेसमा युवा नेताहरुको विरोध
काँग्रेसमा गगन थापासहितका १५ जना केन्द्रीय नेताहरुले सभासदको नाम अनुमोदन गर्न बसेको केन्द्रीय समिति बैठकमा नै निर्णयको विरोध गर्दै नोट अफ डिसेन्ट लेखेका छन् ।
पार्टीले गुटका आधारमा सभासद चयन गरेको भन्दै उनीहरुले त्यसको विरोध गरेका हुन् । काँग्रेसले सभापति सुशिल कोइराला र नेता शेरबहादुर देउवा पक्षबीच सभासदको कोटा बाँढेको थियो ।
सो निर्णयप्रति उपसभापति रामचन्द्र पौडेल समेत अशन्तुष्ट छन् । काँग्रेसका चर्चित युवा नेता गगन थापाले त पार्टीले सभासद चयनमा ठूलो कमजोरी गरेको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।
एमालेमा ठूलै किचलो
नेकपा एमालेले पार्टीमा ठूलो योगदान गरेका रामकुमारी झाक्री, ठाकुर गैरे लगायतका युवा नेताहरुलाई उपेक्षा गरी व्यापारीक पृष्ठभुमी भएकी राज्यलक्ष्मी गोल्छालाई सभासद बनाएपछि अशन्तुष्टि चुलिएको हो ।
युवा नेतृ झाक्रीले आफूले पार्टीका लागि बगाएको रगत विष्णुमतिको पानीसरह भएको गुनासो गरेकी छिन् ।
सभासद चयनमा आफ्नो जिल्लालाई उपेक्षा गरिएको भन्दै अछाममा पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ भने, संखुवासभामा जिल्ला नेताहरुले सामुहिक राजिनामा दिएका छन् ।
यस्तै नुवाकोटबाट सभासद नछानिएको भन्दै नेताहरु अशन्तुष्ट छन् ।
एमाओवादीमा पूर्व आइजीपीका कारण विवाद
सूची बुझाउने अन्तिम दिन सोमबार अबेर नामावली बुझाएको एमाओवादीमा पनि विवाद सुरु भएको छ । पूर्व अाइजीपी रविन्द्रप्रताप शाहलाई सभासद बनाएपछि पार्टी कार्यकर्ताहरु निरास बनेका छन् ।
दश वर्षे जनयुद्धमा एमाओवादी आन्दोलनलाई दवाउन भुमिका खेलेको भन्दै कार्यकर्ताहरुले निर्णयको विरोध गरेका हुन् । यसैक्रममा पार्टी कार्यकर्ताले एमाओवादी धादिङको कार्यालयमा तोडफोड गरेका छन् ।
पार्टीमा जिउँदा सहिदको रुपमा चिनिने जिल्ला नेता रामबहादुर भण्डारी लगायतका नेताहरुलाई उपेक्षा गर्दै जनयुद्धमा कुनैपनि कोणबाट सहयोगी भुमिका नखेलेका शाहलाई सभासद बनाएको भन्दै कार्यालयमा तोडफोड भएको हो ।
उनीहरुले कार्यालयमा रहेको फर्निचर र बोर्ड झिकेर आगो लगाइदिएका छन् । साथै सभासदको नामावली चयन गर्दा पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलेसमेत अशन्तुष्टि जनाएका छन् ।
राप्रपा नेपालमा फुटदेखि झडप
संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्षतर्फ एक सिट नजितेपनि समानुपातिकमा २४ सिट प्राप्त गर्दै चौंथो ठूलो दल बनेको राप्रपा नेपाल सभासद चयनकै विवादले दुईचीरा भएको छ ।
टंक ढकाल, राजाराम श्रेष्ठ लगायतका नेताहरुले ‘नेपाली राप्रपा’ नामको छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन् ।
पार्टीका ४२ केन्द्रीय सदस्य मध्ये २० जना आफूहरुको पक्षमा रहेकाले प्रतिशतका आधारमा सभासद पाउनु पर्ने माग गर्दै उनीहरुलाई निर्वाचन आयोगमा निवेदन दिएपनि आयोगले अस्विकार गरिदिएको छ ।
छुट्टै नामावली लिएर निर्वाचन आयोग पुगेका अशन्तुष्ट पक्ष र अध्यक्ष कमल थापा पक्षधर नेता कार्यकर्ताबीच सोमबार झडपको स्थिति समेत सिर्जना भएको थियो ।
मधेसी दलहरु र राप्रपासहितका अन्य साना दलहरुपनि सभासद चयनपछिको किचलोबाट अछुत छैनन् ।