सुकीको दल आम निर्वाचनमा सहभागी हुने

काठमाण्डु टुडे २०७० पुष १३ गते १७:०६ मा प्रकाशित

याङ्गोन, १३ पुस–म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकीको दलले आम निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
शनिबार बसेको उनको दल नेशनल लिग फर डेमोक्र्यासीको बैठकले सो निर्णय गरेको हो । म्यानमारमा आगामी सन् २०१५ मा आम निर्वाचन हुने भएको छ ।
हालको संविधानमा संशोधन गर्नुपर्ने माग सो पार्टीले गर्दै आएको थियो । तर उक्त संविधानमा संशोधन नै नगरेपनि आगामी सो निर्वाचनमा सहभागिता जनाउने बारेमा सो पार्टीले निर्णय गरेको छ ।
म्यानमारको सैनिक नेतृत्वको सरकारले जारी गरेको सो संविधानमा यदि कुनैपनि व्यक्तिको परिवार र बालबालिका पनि विदेशी नागरिकबाट जन्मिएका छन्भने त्यस्तो व्यक्तिलाई राष्ट्रपति हुनबाट रोक लगाइएको छ ।
उनका दुई छोरा बेलायती नागरिक हुन् । त्यसैले नै उनलाई राष्ट्रपति हुनबाट रोक लगाउने उद्देश्यले यस्तो संवैधानिका प्रावधान ल्याइएको अनुमान गरिन्छ ।
त्यस्तै संविधानमा कम्तीमा पनि एक चौथाई सदस्य निर्वाचनबाट नभई सैनिक जर्नेलहरुबाट ल्याउने प्रावधान रहेको छ ।
विगतमा प्रजातन्त्रवादी नेत्री सुकीको सो दलले विद्यमान संविधानमा संशोधन नगरेसम्म निर्वाचनमा सहभागी नहुने बताएको थियो ।
उक्त संविधान संशोधनका लागि नेत्री सुकीले बारम्बार सरकारलाई आग्रह गर्दै आएकी छन । उक्त संविधानमा संशोधन नगर्दासम्म आगामी निर्वाचनमा सहभागिता नजनाउने उनले बताउँदै आएकी थिइन ।
आगामी निर्वाचनमा उक्त दलले सहभागिता नजनाउने आम अनुमान गरिएकोमा शनिवारको सो बैठकको निर्णयलाई एक सकारात्मक सन्देशका रुपमा लिइएको छ ।
उक्त दलका प्रवक्ताले शनिबारको बैठकपछि भने– जस्तोसुकै अवस्थामा पनि हामी निर्वाचनमा जान्छौँ, यससम्बन्धी निर्णय हामी गरिसकेका छौँ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us