
कलकत्ता, १२ पुस–भारत पश्चिम बङ्गालको जलपाईगुडी शहरमा एक साइकलमा राखेको बम विष्फोट हुदा पाँचजनाको मृत्यु भएको छ । अन्य एक दर्जन व्यक्ति घाइते भएका छन् ।
बहारपुर इलाकाको एक पुलमा राखिएको साइकल बम विष्फोट भएको हो । विष्फोटबाट चारजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । विष्फोटकोबेला सो स्थानमा भिडभाड थियो ।
प्रहरीले घटनामा कामतापुर लिब्रेशन अर्गनाइजेशन (केएलओ)को हात रहेको अनुमान गरेको छ । जलपाईगुडीका प्रहरी प्रमुख अमित जवालगीका अनुसार मंगलबार केएलओको संस्थापकको श्रद्धान्जली दिवस थियो भने २८ गते सो संगठनको स्थापना दिवस हो । केएलओले यसअघि पनि धेरै स्थानमा साइकलमा टाईम बम राखेर विष्फोट गराउँदै आएको थियो । त्यसैले विष्फोटमा उसैको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले नाकाहरुमा छापा मारेर घटनामा संलग्नहरुको खोजी जारी राखे पनि कसैलाई पनि पक्रन नसकेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।