
काठमाण्डु– नेपालमा पहिलो पटक सफ्टवेयर निर्माण गरी बिक्री वितरण गर्ने कम्पनी तथा व्यक्तिहरूको तथ्यांक सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय योजना आयोगको सचिवालय काठमाडौंले उक्त तथ्यांक माघ मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।
केन्द्रीय तथ्यांक विभागका निर्देशक डा जिष्णुमोहन भट्टराईले तथ्यांक सार्वजनिकपछि सफ्टवेयर कम्पनी तथा व्यक्तिहरू करको दायरामा आउन बाध्य हुने बताए ।
सफ्टवेयर निर्माण गर्ने कम्पनी तथा व्यक्तिहरूको मुलुकको कूल गार्हस्थ उत्पादनमा के कति योगदान पुगेको छ भन्ने उद्देश्यबाट तथ्यांक सङ्कलन गरिएको हो ।
सूचना, सञ्चार र प्रविधि (आइसिटी)को क्षेत्रमा भएको प्रगतिबाट व्यक्ति तथा फर्म सञ्चालक लाभान्वित भए पनि हालसम्म उनीहरूको कामको प्रकृति, उद्देश्य र राज्यप्रतिको दायित्वका बारेमा सर्वसाधारणलाई जानकारी थिएन ।
तथ्यांक प्रशोधन कार्य अन्तिम चरणमा पुगेको भन्दै निर्देशक भट्टराईले सार्वजनिकपछि कम्पनीका प्रकार, रोजगारी, मुनाफा, कर र अन्य विविध विषयमा तथ्य बाहिर आउने बताए ।
हालसम्म नेपालमा सफ्टवेयर निर्माणका लागि तीन प्रकारले काम भइरहेको छ । पहिलो कम्पनी दर्ता गरेर, दोस्रो सिधै प्राविधिक व्यक्तिबाट र तेस्रो विदेशीले नेपाली प्राविधिकलाई कामदिएर नेपालमा सफ्टवेयर निर्माण भइरहेको बताइन्छ ।
रासस