
इटहरी, १ पुस–सुनसरी मोरङ सिँचाइ आयोजनाले नहरको दुवैतिर बसेको बस्तीलाई हटाउने निर्णय गरेर आफ्नो स्वामित्वको जमिन छुट्याएपछि सुकुम्वासीले त्यसको कडा विरोध गर्दै आयोजनाको निर्णयविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । बस्ती बसोबास मूल संघर्ष समिति नै बनाएर नहरको दायाँबायाँ घर बनाएर बस्दै आएका सुकुम्वासीले नहरको डिल झुम्कामा आमसभाको आयोजना गरेर कुनै पनि हालतमा सहज ढङ्गले आफूहरुले बसोबासस्थल नछाड्ने उदघोष गरेका छन् ।
बस्ती बसोबास मूल संघर्ष समितिले आयोजनाले नहरको बस्ती हटाउनुअघि न्यायिक छानबिन समिति बनाएर वास्तविक सुकुम्वासीको पहिचान गरेर वास्तविक सुकुम्वासीलाई राहतको व्यवस्था हुनुपर्ने कुरालाई पहिलो प्राथमिकता दिएका छन् । वर्षौंदेखि नहरका डिलमा बसे र कसैले पनि हटाउन वा उठेर जान नभनेको र अहिले एकाएक सुकुम्वासीको घर भत्काएर घरवारविहीन बनाउन खोज्नु न्याय नहुने भन्दै सुनसरीको चतरादेखि मोरङको केरौनसम्मको नहरको डिलमा बस्दै आएका पाँच हजारभन्दा बढी सुकुम्वासीले घरटहरा भत्काउने आयोजनाको निर्णयविरुद्ध एकताबद्ध हुने उदघोषसमेत गरेका छन् ।
मोहन अधिकारीको अध्यक्षतामा गठिन संघर्ष समितिमा २५१ जना सदस्य छन् । उनले नहरको डिलमा बसोबास गर्दै आएका सुकुम्वासीलाई हटाउनुअघि विकल्प दिनुपर्ने माग गरे ।
सिँचाइ आयोजनाले नहर मर्मत गर्न र विस्तार गर्नका लागि बस्तीकै कारणले कठिन पर्ने गरेको उल्लेख गर्दै यसअघि पनि नहरको डिलमा निर्माण गरिएका घरटहरा हटाउन सूचना जारी गर्दै आएको थियो । तर यो वर्ष आयोजनाले कुनै पनि हालतमा घरटहरा हटाएरै छाड्ने निर्णय गरेकाले वास्तविक सुकुम्वासीलाई त्यसको असर परेको छ ।