काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक आगामी जेठ २५ गते बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बस्नेछ ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई सहभागी हुन निमन्त्रणा गरिएको छ ।
बुर्लाकोटीले सर्वदलीय बैठकसम्बन्धी सूचना र निमन्त्रणापत्र सबै राजनीतिक दलहरूलाई पठाइसकिएको जानकारी दिँदै अधिकांश दलबाट सहभागिताको पुष्टि भइसकेको बताए ।
बैठकमार्फत समसामयिक राजनीतिक परिस्थिति, संसद्को प्रभावकारी सञ्चालन तथा राष्ट्रिय सरोकारका विषयमा साझा धारणा निर्माण गर्ने प्रयास गरिने जनाइएको छ ।
यसअघि उपसभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग सम्पर्क गरी बैठक सफल बनाउन सहजीकरणका लागि आग्रह गरेका थिए ।