
इटहरी, १ पुस–प्रकृति पुजक लिम्बू समुदायको जातिगत परम्पराअनुसार नयाँ अन्न चढाएर मात्र खाने जातीय संस्कार सुरु भएको छ । लिम्बू समुदायको चासोक तङ्नामका नामले परिचित यो धार्मिक संस्कारमा लिम्बू समुदायका युवायुवतीदेखि वृद्धवृद्धासमेत धाननाच नाचेर यो पर्वमा खुसियाली साटासाट गर्ने चलन रहेको छ ।
यही क्रममा इटहरी क्षेत्रमा बसोबास गर्दै आएका लिम्बू समुदायले इटहरी–४ मा रहेको माङ्हिममा नयाँ अनाज चढाई प्रकृतिदेवतासँग घरपरिवारका कसैलाई पनि दुःख वा रोगव्याध नलागोस् भनेर कामनासमेत गरेका छन् । लिम्बू समुदायले अबको समयमा पनि अनुकूल बनोस्, समयमा पानी परोस् र राम्ररी अनाज लगाउन सकियोस् भनेर भूमिदेवसँग आरधना गर्दै अनुकूल प्रकृति अर्थात् चाहेजस्तो वातावरण बनिदेओस् भनेर जातीय परम्पराअनुसार भूमिको पूजा गर्ने जातीय संस्कार रहेको छ ।
लिम्बू समुदायका मानिसले विकास क्रममा अघि बढ्दै जाँदा सुरु गरेको धाननाचको पनि आ–आफ्नै शैली र परम्परा रहेको छ । विवाह, भोजभतेर, मृत्यु संस्कार आदिका समयमा बेग्लाबेग्लै धुनमा च्याब्रुङ र झ्याम्टा बजाएर नाचिने गरेको छ ।
लिम्बू भाषा लिपि इटहरीका अध्यक्ष चित्र बनेमले धाननाच लिम्बू समुदायका जुनसुकै कार्यमा पनि प्रयोग गरिँदै आएको तथा लिम्बू समुदायका लागि च्याब्रुङ बजाएर नाचिने धाननाचले केटाले केटीलाई प्रभाव पार्ने वा केटीले केटालाई प्रभावमा पारेर प्रेम गर्न अवसरका रुपमा पनि प्रयोग हुँदै आएको बताए । रासस