
गौर, १ पुस–विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै व्यवस्थापन समितिले बिहीबारदेखि अनिश्चितकालीन गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । गौर नगरपालिका–१३ सिर्सियास्थित दलित समुदाय प्राथमिक विद्यालयमा प्रधानाध्यापक राजेन्द्र हजराले विभिन्न शीर्षकमा लाखौँ रुपैयाँ अनियमितता गरेको आरोपमा व्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्दर पासवानले विद्यालयमा गरेको तालाबन्दी अझै खुल्न नसकेको हो ।
प्रधानाध्यापक हजराले विद्यालय भवन निर्माण, छात्रवृत्ति रकम, ब्लक लगायतको शीर्षकमा करिब साढे ६ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तालाबन्दी गरेको पूर्वअध्यक्ष पासवानले बताए । प्रधानाध्यापकसँग पटकपटक हिसाब माग गर्दासमेत बेवास्ता गर्दै आएकाले बाध्य भएर तालाबन्दी गरेको उनले जानकारी दिए । विगत तीन वर्षदेखि विद्यालयमा बसेर हजराले विभिन्न शीर्षकमा उक्त रकम हिनामिना गरेको भए पनि हिसाब पारदर्शी गर्न आग्रह गर्दा पनि बेवास्ता गरेको बताइएको छ ।
यता जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भवन निर्माण गर्न रकम निकासा भएपछि हजाराले विद्यालयको नाममा रहेको जग्गामा भवन निर्माण नगरी पासवान सेवा समितिको जग्गामा विद्यालय भवन निर्माण गरेको समेत स्थानीय बासिन्दाले आरोप लगाएका छन् । विद्यालयमा १५० जना बालबालिका अध्यनरत छन् । रासस