भक्तपुर, ३० मंसिर– दुवै मिर्गौला असफल भएपछि विगत आठ वर्षदेखि नियमितरुपमा औषधि उपचार गराउँदै आएकी एक महिलाले मिर्गौला दिने व्यक्ति पाए पनि यसका लागि लाग्ने खर्च अभाव भएपछि मिर्गाैला प्रत्यारोपण गर्ने कार्य रोकिएको छ ।
भक्तपुरको दधिकोट गाविस–७ गाम्चाकी ३९ वर्षीया कमला श्रेष्ठलाई मिर्गौला दिने मान्छे पाए पनि रकम नहुँदा प्रत्यारोपण हुन सकेको छैन ।
श्रेष्ठले विसं २०६८ देखि दुवै मिर्गौला काम नलाग्ने भएर वीर अस्पतालमा उपचार गराउँदै हाल साताको दुई पटक डायलासिस गराइरहेकी छिन् । श्रेष्ठले हाल भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा शल्यक्रिया गरी मिर्गाैला प्रत्यारोपण गर्ने व्यवस्था मिलाए पनि त्यहाँ लाग्ने करिब १५ लाख रुपैयाँको अभाव भएपछि प्रत्यारोपण हुन नसकेको हो ।
श्रेष्ठका अनुसार उपचारमा करिब पाँच लाख खर्च हुने भए पनि मिर्गाैला दान दिने कोही नहुँदा किन्नुपर्ने अवस्था आएकाले मिर्गौला बिक्री गर्ने मानिसलाई समेत पैसा दिनुपर्ने भएकाले समस्या आएको हो ।
मिर्गौला प्रत्यारोपणका लागि श्रेष्ठको परिवारले आर्थिक सहयोग संकलन सुरु गरेको छ । श्रेष्ठ र छिमेकीले आर्थिक सहयोग गर्न दातालाई आह्वान गर्दै प्रभु फाइनान्स कम्पनीको खाता नं ०१२–००१६७ मा सहयोग रकम जम्मा गरी ज्यान बचाइदिन आग्रह गरेका छन् ।