रास्वपालाई असफल हुने छुट छैनः सांसद न्यौपाने

काठमाण्डु टुडे २०८३ जेठ २४ गते १७:२८ मा प्रकाशित

काठमाण्डू,२४ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ– २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन ।

आज (आइतबार) रास्वपा तनहुँ जिल्ला समितिद्धारा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले देशको ठूलो शक्ति रास्वपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छुट नरहेको समेत बताएका छन ।

सांसद न्यौपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्नुहुँदै करिब दुई तिहाइ नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट आफ्नैबाट खतरा रहेको समेत बताएका छन । उनले भने, ‘बाहिरको सङ्ख्या अत्यन्तै न्यून छ, रास्वपाको सङ्ख्या बढ्दो छ ।

अन्य पार्टीबाट रास्वपामा आएकाले विगतको स्कुलिङ त्याग्नुपर्छ । राणातन्त्र, राजतन्त्रको अन्त्य पनि आफ्नैभित्रको कारणले भएको हो । पुराना दल पनि चकनाचुर भएका आफ्नै पार्टीभित्रको द्वन्द्वले हो । देश परिवर्तन गर्ने सङ्कल्प बोकेर जन्मिएको रास्वपालाई बलियो शक्तिका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले पार्टीभित्र सहमति र सहकार्यलाई सधैँ निरन्तरता दिनुपर्ने समेत बताए ।

सांसद न्यौपानेले जुन आशा, भरोसाका कारण रास्वपालाई करिब ५२ लाख मत प्राप्त भएको छ विगतबाट पाठ सिकेर अगाडि बढ्दै जनताको भरोसालाई गन्तव्यसम्म पुर्‍याउनुपर्ने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us