
लस एन्जलिस, २९ मंसिर– अमेरिकामा गत वर्ष न्युटाउन विद्यालयमा भएको आमहत्याको वार्षिकीको पूर्वसन्ध्यामा कोलोराडोस्थित अरापाहो माध्यमिक विद्यालयमा सटगन बोकेका एक स्कूले छात्रले शुक्रबार गोली प्रहार गरी आफ्ना दुई साथीलाई घाइते बनाएका छन् भने पछि आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।
अरापाहो माध्यमिक विद्यालय गतवर्ष गोली प्रहार भएको औरोरा सिनेमाहल तथा सन् १९९९ को कोलम्बाइन रक्तपातभएको स्थानबाट केही माइल पर रहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त छात्रले सटगन बोकी विद्यालयमा प्रवेश गरेपछि उसका सयौँ साथीहरू कक्षाकोठामा गई भित्रबाट ढोका बन्द गरेका थिए । बन्दुक लिएका छात्र चिच्याउँदै आफूले एउटा शिक्षकको खोजी गरेको बताएका थिए । प्रहरीले यसलाई बदलाको रूपमा योजनाबद्ध आक्रमणको रूपमा लिएको छ ।
अमेरिकामा बन्दुकमाथि नियन्त्रण लागाउनुपर्छ भन्ने विषयमा विवाद शनिबारनै पत्रिकामा प्रमुख समाचारको रूपमा देखा परेको छ । गतवर्ष कनेक्टिकटको न्युटाउनमा भएको गोली काण्डमा २६ व्यक्तिको मृत्युभएको थियो भने त्यसमा २० साना बालबालिका परेका थिए ।
अरापाहो प्रशासकीय क्षेत्रका प्रहरी प्रमुख ग्रेसन रबिनसनले उक्त छात्र बन्दुकसहित गाडीबाट झरी मूल ढोकाबाटै विद्यालयमा प्रवेश गरेको र दुई विद्यार्थीलाई घाइते बनाएको जानकारी दिए । घाइते भएकी १५ वर्षीया एक छात्रामा शल्यक्रिया गरिएको छ र उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
यी छात्रबाट दुई मोलोटोभ बन्दुक फेला परेको र एकको गोली प्रयोग भएको देखिएको रबिनसनले बताए । घटनाको पाँच मिनेटमै यी छात्रलाई मृत अवस्थामा विद्यालयभित्र फेला पारिएको थियो । रबिनसनले गोली प्रहार गर्ने विद्यार्थी १८ वर्षीय कार्ल पियर्सन भएको जानकारी दिए ।
यस विद्यालयमा दुई हजार २०० विद्यार्थी अध्ययन गर्ने र त्यसमा ७० वटा कक्षाकोठा रहेको बताइएको छ । रासस/एएफपी