
काठमाण्डु, २९ मंसिर– एकीकृत माओवादीले संविधानसभा निर्वाचनको विश्वसनीयतामाथि उठेको प्रश्नको समाधान नभई संविधानसभामा सहभागी नहुने पार्टीको निर्णय कायम नै रहेको जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित प्रवक्ता–सञ्चारकर्मी भेटको अवसरमा सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनको वैधतामाथि प्रश्न उठिसकेपछि त्यसको छिनोफानो गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठनको माग कायम रहेको र सो माग पूरा नहुँदासम्म संविधानसभामा सहभागी हुने पार्टीको कुनै नीति नै नरहेको बताए ।
संविधानसभा निर्वाचनमा पैसाको खोलो बगेको आरोप लगाउँदै उनले त्यस्तो खोलो सरकारी र गैरसरकारी संस्थाका माध्यमबाट बगाइएको आरोप लगाए । प्रमुख दलहरू आयोग गठनमा सहमत भए आफ्नो पार्टी संविधानसभामा जान प्रतिबद्ध रहेको समेत उनको भनाइ थियो ।
निर्वाचन स्वच्छ र निष्पक्ष भएको दाबी गर्ने नेपाली काँग्रेस र नेकपा(एमाले) किन आयोग गठनमा तयार नभएका होलान् भन्नेमा आफूलाई आश्चर्य लागेको तर्क गर्दै उनले भने, ‘आयोगले स्वच्छ भएको भन्ने प्रतिवेदन दिए त हामी पनि त्यसलाई मानिहाल्छौं नी, तर उहाँहरू किन मानिरहनु भएको छैन, कुरा बुझ्न सकिएको छैन ।’
आफ्नो पार्टी जनताको परिवर्तनको एजेन्डा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै उनले विगतमा उठाइएका कुनै पनि एजेन्डा छोडेर जनतालाई धोका दिने पक्षमा नरहेकोसमेत उल्लेख गरे ।
निर्वाचनमा विजयी र पराजित भएका क्षेत्रमा नेता तथा कार्यकर्ता र उम्मेदवारहरू पुग्दा जनताले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएको दाबी गर्दै उनले विगतदेखि उठाउँदै आएको एजेन्डा नछाड्न आग्रह गरेको बताए । रासस