
सुर्खेत,२८ मंसिर– सुर्खेतको वीरेन्द्रनगरमा नेपाल व्यापार तथा पर्यटन मेलाको उदघाटन गर्न आइपुगेका राष्ट्रपति डा. रामवरण यादवलाई शुक्रबार २१ किलोको मालाले स्वागत गरिएको छ ।
मेला मूल आयोजक समितिका संयोजक तथा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पद्मबहादुर शाही र वाणिज्य संघका पूर्व अध्यक्षले संयुक्तहरुपमा राष्ट्रपतिलाई २१ किलोको माला लगाइदिएका हुन् ।
राष्ट्रपतिका लागि बाँकेको नेपालगञ्जबाट माला मगाइएको थियो । राष्ट्रपति र अन्य अतिथिहरुलाई स्वागत गर्न तथा मञ्च सजाउन नेपालगञ्जबाट करिब एक लाख बराबरको ४५ किलो हजारी माला भित्र्याइएको मूल आयोजक समितिले जनाएको छ ।
सो क्रममा राष्ट्रपति डा. रामवरण यादवले सबैसँग समन्वय गरेर संविधान निर्माण गर्नुपर्ने बताएका छन् । राष्ट्रपति यादवले नेपाली नागरिकले शान्ति र संविधान चाहेकाले बाहिर रहेका दलहरुलाई पनि मिलाएर सबैको सहयोगमा संविधान निर्माण गर्नुपर्ने बताए ।
उनले भने, ‘दुईवटा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले पनि नेपाली नागरिकले शान्ति चाहेको स्पष्ट हुन्छ । अब सबै मिलेर संविधान निर्माण गर्नुपर्छ, बाहिरका शक्तिलाई पनि संविधानसभामा ल्याउनुपर्छ ।’