
काठमाण्डु, २८ मंसिर– नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन अस्पष्ट भएको भन्दै केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशाबारे स्पष्ट पार्न माग गरेका छन् ।
संघर्षको लागि उपयुक्त वातावरण बनेको उनीहरुको ठहर छ । संविधानसभा यथास्थितिवादीको हातमा गएर हालसम्मको उपलब्धी गुम्ने खतरा रहेकोले संघर्षमा जानुको विकल्प नभएको माओवादी नेताहरुको धारणा छ ।
सबैजसो केन्द्रीय सदस्यहरुले जनविद्रोहका लागि वस्तुगत स्थिति राम्रो बन्दै गएको र त्यसका लागि सबै कार्यकर्तालाई मानसिक रुपमा तयार पार्ने गरी कार्यक्रम ल्याउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । केही केन्द्रीय सदस्यहरुले राष्ट्रियता पक्षधर र संघीयतावादीको बृहत मोर्चा बनाएर पार्टीले नेतृत्व लिनुपर्ने, एमाओवादीसँग तत्काल पार्टी एकता गर्न नहुने, पार्टीभित्र देखिँदै गएका अस्तव्यस्तता र अराजकता अन्त्य गर्नुपर्ने, तथा मनोनित भएर संविधानसभामा सहभागी हुन नहुने लगायतका सुझाव पनि दिएका छन् ।
वैद्यको राजनीतिक प्रतिवेदनमा असन्तुष्टि जनाउँदै धारणा राख्ने क्रम जारी रहेपछि केन्द्रीय समिति बैठक लम्बिएको छ ।
सबै सदस्यहरूले धारणा राख्ने क्रम सम्भवतः शुक्रबारसम्ममा सकिने र अध्यक्ष वैद्यको प्रतिवेदन सुझाव सहित पारित गर्ने माओवादी पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले जानकारी दिए ।