काठमाण्डु, २७ मंसिर–एकीकृत माओवादीले संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन नभएसम्म पार्टीले पाउने समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा नबुझाउने भएको छ ।
प्रवक्ता अग्नि सापकोटाले धाँधली छानविन नभएसम्म सूची नबुझाउने अडानमा पार्टी कायमै रहको बताए । ‘छानविन आयोग बनेर रिपोर्ट आइसकेपछि नयाँ सहमतिका आधारमा मात्र समानुपातिकको सूची बुझाउने हो’, सापकोटाले काठमाण्डु टुडेसँग भने, ‘अन्यथा हामी सूची पनि बुझाउँदैनौं, संविधानसभामा पनि जाँदैनौं ।’ निर्वाचन आयोगले समानुपातिक सभासदको सूची बुझाउन दलहरुलाई दोस्रोपटक दिएको समय आगामी ३ पुसमा सकिंदैछ ।
पार्टीभित्र आकांक्षी धेरै देखिएपछि उत्पन्न विवाद मिल्न नसकेपछि काँग्रेस–एमालेले समानुपातिक सभासदको सूची बुझाउन गरेको आग्रहका आधारमा निर्वाचन आयोगले मंगलबार ८ दिन म्याद थप गरेको थियो । काँग्रेस–एमालेभित्रको आन्तरिक विवाद र छानविन समिति नबनेसम्म संविधानसभामा सहभागी नहुने एकीकृत माओवादी अडानका बीच संविधानसभा गठनमा ढिलाइ भएको छ ।
प्रवक्ता सापकोटाले संविधानसभामा जानुपर्ने केही नेताहरुको विचार व्यक्तिगत भएको टिप्पणी गरे । नेता नारायणकाजी श्रेष्ठले केही दिनअघि ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी पार्टी संविधानसभामा जाने बताएका थिए । सापकोटाले काँग्रेस–एमालेले भनेजस्तो धाँधली छानविनका लागि संसदीय समिति बनाउन आफूहरु तयार नरहेको उल्लेख गरे ।
संविधानसभा निर्वाचनपछि बुधबार पहिलोपटक बसेको मुख्य दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति बैठकमा काँग्रेस–एमालेले निर्वाचनको विश्वसनीयता घट्ने भन्दै माओवादीको मागअनुसार छानविन आयोग बनाउन नसकिने बताएका थिए ।
माओवादीले निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा र संविधानसभामा जाने नजाने विषयमा छलफल गर्न आगामी पुस ९ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ ।