
बर्दिवास, २७ मंसिर–महोत्तरीका व्यापारीहरुले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएका छन् । गत सोमबार साँझ जनकपुरबाट जलेश्वर आउँदै गरेको किराना सामानसहितको ट्रकलाई सुरक्षाकर्मीले जलेश्वरको जिरोमाइल नजिकै नियन्त्रणमा लिएपछि उद्योगी व्यापारीहरुले तीन दिनदेखि हड्ताल गर्दै आएका थिए ।
गएराति दुवै पक्षबीच सुरक्षाकर्मीले नियन्त्रणमा लिएको ट्रकमा रहेका समानको बिल बिजक (आवश्यक कागजात) अध्ययनपछि सम्बन्धित व्यापारीलाई फर्काउने सहमति भएपछि आन्दोलनरत पक्षले आफ्ना विरोधका कार्यक्रम तत्काल फिर्ताको घोषणा गरेका थिए ।
आन्दोलित पक्ष र जिल्ला प्रशासनबीच बुधबार राति अबेर सुरक्षाकर्मीले नियन्त्रणमा लिएको ट्रकमा रहेका समानको बिल बिजक (आवश्यक कागजात) अध्ययनपछि सम्बन्धित व्यापारीलाई फर्काउने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष रामकपुर साह राजुले जानकारी दिए । बन्दका कारण तीन दिनदेखि तनावमा रहेको जलेश्वर बजार दुवै पक्ष बीचको सहमतिपछि विहीबार बिहानैदेखि सञ्चालन भएको छ । एकाबिहानै पसलहरु खुल्नासाथ आवश्यक सामग्री लिन पाएकामा ग्राहक उपभोक्ताले खुसी व्यक्त गरेका छन् ।
यसअघि जलेश्वर उद्योग वाणिज्य संघको नेतृत्वमा मङ्गलबार बिहानदेखि जलेश्वरबजार बन्द गराएका उद्यमी व्यापारीले सुरक्षाकर्मीले नियन्त्रणमा लिएको किराना समानसहितको ट्रक बुधबार साँझ भन्सारलाई बुझाएपछि अनिश्चितकालीन हड्ताल आह्वान गरेका थिए ।
ट्रकमा नेपालमा नै उत्पादित रासायनिक मल, आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको (बिल बिजकसम्बन्धी कागजात रहेको) २० बोरा सुपारी, मैदा, खानेतेल र अन्य किराना समान रहेको दुवै पक्षले जनाएका छन् । सहमतिमा नेपाल–भारतबीच हुने व्यापारिक कारोबारका समानमा दुवै पक्षले कानुनको पूर्ण परिपालना गर्नपर्ने उल्लेख रहेको बताइएको छ ।