
काठमाण्डु, २६ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबारबाट ५९ औं वसन्त पूरा गरेका छन् । उनको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस -२ लेवाडेमा भएको थियो ।
जन्मदिनका अवसरमा प्रचण्ड निवास लाजिम्पाटमा कुनै कार्यक्रम भने राखिएको छैन । ‘पहिले पनि हुँदैनथ्यो, आज पनि केही कार्यक्रम छैन,’ प्रचण्डका छोरा प्रकाशले काठमाण्डु टुडेसँग भने ।
बुवा मुक्तिराम र आमा भवानीको जेठो छोरोको जन्मिएका प्रचण्डको विद्यार्थी र राजनीतिक जीवन भने चितवनमा बितेको थियो । उनले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता चितवनबाटै लिएका थिए ।
दश वर्षे सशस्त्र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड शान्ति र संविधानको वर्तमान राजनीतिमा पनि उत्तिकै सकृय छन् । उनी २०६५ भदौ २ गते गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । तर प्रधानसेनापति प्रकरणका कारण उनले २०६६ वैशाख २१ गते प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
दोस्रो संविधानसभा निर्वाचनपछिको बदलिँदो राजनीतिक परिस्थितिमा शान्ति र नयाँ संविधान निर्माणको प्रक्रियालाई निष्कर्षमा पुर्याउनसमेत उनको भुमिका महत्वपूर्ण हुने ठानिएको छ ।