
काठमाण्डु, २५ मङ्सिर-अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले बुधबारदेखि आगामी मङ्सिर ३० सम्म काठमाण्डुमा हुनेभएको छ । सो महोत्सवमा लागि ५० मुलुकबाट ३०० वटा चलचित्र प्राप्त भएको र नेपालमा बनेको ५५ वटा चलचित्र समावेश हुनेछन ।
महोत्सव आयोजक संस्थाका किफका अध्यक्ष बसन्त थापाले महोत्सवमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट तीनवटा चलचित्र छनौट हुने र विजयी प्रथम, द्वितीय र तृतीय चलचित्रलाई क्रमशः एक हजार ५००, एक हजार तथा ५०० अमेरिकी डलर पुरस्कार दिइने जानकारी दिए । नेपाली खण्डको नेपाली प्यानोरामातर्फ सर्वोत्तम डकुमेन्ट्रीलाई रु २५ हजार र कथानक चलचित्रतर्फ रु २५ हजार पुरस्कार दिइनेछ ।
त्यस्तै अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यान्मार, नेपाल तथा पाकिस्तानी क्षेत्रका सदस्य राष्ट्रका चलचित्र निर्मातालाई सहयोग गर्न एकीकृत अन्तराष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड)ले एक हजार अमेरिकी डलरको पुरस्कार राखेको जानकारी पनि उनले दिए ।
फ्रान्सका चलचित्र निर्माता ओलिभर पोससेटले आफूले दर्शकलाई आकर्षित हुने एउटा चलचित्र पनि कार्यक्रममा प्रस्तुत गर्ने बताए ।
इन्द्रेनी खोज्दै जाँदाका निर्देशक सौरभ राजभण्डारी, बालकृष्ण सम चलचित्रका निर्देशक दिनेश पाल्पालीले नेपाली चलचित्रको विकासमा चलचित्रकर्मीको कठोर मिहिनेत र परिश्रमबाट मात्र दर्शकको मन जित्नसक्ने बताए ।
फ्रान्समा बसेर चलचित्रका क्षेत्रमा काम गरिरहेका चलचित्र निर्देशक सुवर्ण थापाले आफूले फ्रान्समा बसेर छोरा नामक लघु चलचित्र निर्माण गरेको बताए ।
डब्लुडब्लुएफ नेपालका सूचना अधिकृत सिम्रिका शर्माका अनुसार चलचित्र क्षेत्रमा पनि युवाको भूमिका विस्तार गर्न पाँच हजार युवालाई ग्रिन एम्ब्रेलाभित्र ल्याउने अभियान सुरु गर्न लागिएको छ । रासस