काठमाण्डू,२४ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टीको अब कुनै व्यक्तिगत वा राजनीतिक लडाइँ नरहेको बताएका छन ।
गरिबी, असमानता, भ्रष्टाचार र बेरोजगारीविरुद्ध रास्वपाको संघर्ष जारी रहने समेत उनले बताएका छन । आज (आइतबार) रास्वपा धनकुटाको जिल्ला अधिवेशनलाई टुँडिखेलमा सम्बोधन गर्दै परियारले यस्तो बताएका हुन । उनले पुराना दलहरू अझै पनि पुरानै सोच, अहंकार र अस्वस्थ प्रतिस्पर्धामा अल्झिएको आरोप समेत लगाएका छन ।
उनले भने, ‘जनताबाट पटक–पटक दण्डित भइसकेका पुराना दलहरूसँग अब हाम्रो कुनै व्यक्तिगत वा राजनीतिक लडाइँ छैन, तिनीहरूलाई गाली गरेर वा उनीहरूसँग प्रतिस्पर्धा गरेर समय खेर फाल्ने छुट हामीलाई छैन । नेपाली जनताले उनीहरूको प्रवृत्तिको फैसला गरिसकेका छन् ।’
उनले व्यवस्था परिवर्तनका नाममा नागरिकको अवस्था यथावत् राख्ने बिचौलिया संयन्त्रविरुद्ध पनि रास्वपा संघर्षरत रहेको बताए। ‘हामी गाली गरेर होइन, काम गरेर देश बदल्न आएका हौँ ।
आश्वासनको खेती गर्न होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन आएका हौँ,’ उनले भने। परियारले रास्वपाको मुख्य लडाइँ समाजभित्र जरा गाडेर बसेको गरिबी, असमानता, विभेद, भ्रष्टाचार र बेरोजगारीविरुद्ध रहेको बताए ।
उनले धनकुटाका किसानले उत्पादन गरेको सुन्तला, तरकारी र दूधको उचित मूल्य नपाउँदासम्म तथा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भइरहँदासम्म आफ्नो संघर्ष जारी रहने उल्लेख गरे।