
काठमाण्डु, २३ मंसिर– संविधानसभा अदालतले काठमाण्डु क्षेत्र नं ४ का विजयी उम्मेदवार गगन थापालाइ १० दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
एकीकृत नेकपा माओवादीका उम्मेदवार नन्दकिशोर पुन पासाङले धाँधलीबाट चुनाव जितेको भन्दै गरेको उजुरीको सुनुवाई गर्दै थापालाई सो अदालतले आइतबार उपस्थितिको आदेश दिएको हो ।
सो अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले काठमाण्डु ४ का थापालाई आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन भनेको हो ।
त्यस्तै आइतबारै सो इजलासले दोलखा–१ का विजयी पार्वत गुरुङका साथै निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृत लगायतलाई पनि १० दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको छ ।
दोलखा–१ का एनेकपा माओवादीका पराजित उम्मेदवार नेता विशाल खड्काले नेकपा एमालेबाट विजयी पार्वत गुरुङविरुद्ध आइतबारै संविधानसभा अदालतमा उजुरी दर्ता गराएका थिए । उजुरीमा निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाइएको छ ।
यसअघि नेपाली काँग्रेसका उम्मेदवार जीपछिरिङ लामाले पनि विपक्षी गुरुङविरुद्ध संविधानसभा निर्वाचनमा धाकधम्कीसहित गुण्डागर्दी गरेर मतदान केन्द्र कब्जामा लिने काम भएको आरोप लगाउँदै पुनः निर्वाचन गराउन पर्ने माग सहित उजुरी गरेका थिए ।