
काठमाण्डु, २३ मंसिर– पुराना राजनीतिज्ञ माधव रिमालले लोकतन्त्रमा सर्व सहमतिको सरकार बनाउनै नहुने जिकिर गरेका छन् । पूर्वकुटनीतिज्ञ समेत रहका उनले बहुमतको सरकार बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
एकीकृत नेकपा माओवादीलाई कुनै पनि हालतमा सरकारमा ल्याउन नहुने तर्क गर्दै निर्वाचनमा केही धाँधली हुनु संसारभरीको लागि सामान्य विषयवस्तु भएको उनको जिकिर छ । आफ्नै निवासमा आइतबार पत्रकार सम्मेलन गरेर पाकिस्तानी स्टडी सेन्टरका वर्तमान अध्यक्ष समेत रहेका रिमालले एमाओवादीको विरोध गर्दै काँग्रेस र एमालेको समर्थन गरेका हुन् ।
जर्ज बुस पनि धाँधलीबाट राष्ट्रपति भएको हो
रिमालले काँग्रेस र एमालेको बहुमतको सरकार निर्माण हुनु पर्ने र त्यसमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई भने सहभागी गराउन सकिने तर्क गरे ।
उनले भने, ‘चुनाव हारेपछि धाँधली भयो भन्नु हरुवा गोरुको छेरुवा दाउ मात्रै हो । दुनियाँमा सबै ठाँउ चुनावमा धाँधली हुन्छ । अमेरिकामा जर्ज बुसले त क्यालिफोर्नियामा धाँधली गरेर राष्ट्रपति भएका हुन् ।’
सेना मात्र विश्वासिलो शक्ति
नेपाली जनता भर पर्न सक्ने एक मात्र शक्ति नेपाली सेना भएकोले धाँधलीको नाममा सेनालाई विना प्रमाण मुच्न नहुने भन्दै उनले एमाओवादी सहितका दलहरुको आलोचना गरे ।
नेपालको सन्तुलित विदेश नीति नभई भारत नीति मात्रै रहेको भन्दै अब मुलुकको विकासको लागि वास्तविकतामा रहेर सन्तुलित विदेश नीति बनाउनु पर्नेमा समेत रिमालले जिकिर गरे ।
महत्वाकाक्षाले राजनीतिज्ञहरु बिग्रिने गरेको सुनाउँदै उनले नेपालका नेताहरुमा चरम महत्वकांक्षा भएकोले पनि देशको हित हुन नसकेको आरोप लगाए ।