
काठमाण्डु, १९ मंसिर । युवा तथा साना व्यवसायी रोजगार कोषका पीडित परामर्शदाता कर्मचारीले आफूलाई अवकाश दिई आफ्नै नातेदारलाई नियुक्ति दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
पीडित कर्मचारीले आव २०६९/०७० मा २३ जनाको रिक्त दरबन्दी पूर्तिका लागि गत पुस २ गते सूचना प्रकाशित गरिएपनि सो सूचनालाई लत्याएर यस कोषका उपाध्यक्षदेखि अन्य कर्मचारीका ३३ जना नातेदारलाई नियुक्ति दिइएको र यसअघि नियमबमोजिम नियुक्त भएका परामर्शदातालाई बिना सूचना प्रहरी लगाएर अवकाश दिइएको आरोप लगाएका छन् ।
ती पीडित कर्मचारीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, अर्थमन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल बार एसोसिएसन र राससमा समेत बोधार्थ पठाएका छन् । रासस