
काठमाण्डु, १९ मंसिर– टि–२० विश्वकपमा नेपाललाई पुर्याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नागरिक अभिनन्दनका लागि सहर परिक्रमा गराईयो । क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले नक्सालबाट खेलाडीहरुलाई सहर परिक्रमा गराउँदै त्रिपुरेश्वर पुर्याए ।
सडकमा शुभच्छुक, प्रशंसकहरुको ताँती खेलाडीहरुको पछि पछि लागेको थियो । सडकमा हिँडिरहेकाहरु, मोटरसाइकलमा गुडिरहेकाहरु पनि खेलाडीहरुको सम्मानमा टक्क रोकिन्थे उनीहरुतिर हेर्थे र हात हल्लाउँथे । मोटरमा रहेका खेलाडीलाई सडकबाट, घरका छत, झ्यालबाट, गाडीबाट हात हल्लाउँदै अभिभावदन आइरहेका थिए । खेलाडीहरु पनि मुसुक्क मुस्कुराउँदै हात उठाएर अभिवादन फकाउँथे ।
मंगलबार खेलाडीहरुको सम्मानमा आयोजित रात्रीभोजमा टिम कप्तान पारस खड्काको गला अवरुद्ध हुँदा आँसु बगेको आँखाले पनि बुधबार केही बोलेजस्तो लाग्थ्यो । धेरै खेलाडीहरुले घाम छल्न कालो चस्मा लगाएका थिए तर चस्मै भित्रबाट उनीहरुका आँखाले केही भनेजस्तो लाग्थ्यो कि, ‘नेपाली क्रिकेट प्रेमीहरु बढ्दैछ, नागरिकको मायाले पनि हामीले अझै खेल्नुपर्छ, हामीलाई सेवा सुविधा त छैन तर, नेपाली जनताको अथाह माया छ’ ।
हेरौं फोटो फिचर : सहर घुम्दा विजेता खेलाडीहरुको आँखा बोल्यो । तस्विरहरुः काठमाण्डु टुडे