
मङ्गलबारे, १९ मंसिर । इलाम क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रक्रिया र विकास गतिविधि सँगसँगै हुँदै जाने बताएका छन् ।
इलामको इभाङ–६ स्थित मतदातासँगको भेटघाट कार्यक्रममा नेम्वाङले दलहरूबीच सहमति गरेर एक वर्षमा संविधान बनाउने र विकास निर्माणका गतिविधिसमेत सञ्चालन गर्ने बताएका हुन् ।
संविधानप्रति लक्षित गर्दै उनले विगतका उपलब्धि संस्थागत गरेर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे । ‘विगतमा धेरै उपलब्धि भएका छन्, तिनलाई संस्थागत गरेर थप उपलब्धि हासिल गर्नु अहिलेको आवश्यकता हो,’ नेम्वाङले भने । पूर्व सभामुखसमेत रहेका नेम्वाङले सबै दल मिलेर नयाँ संविधान जारी गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।