
जाजरकोट, १८ मंसिर– जाजरकोटको खलङ्गा गाविस ८ पिपेका १५ वर्षीय बालक गोपाल बस्नेत ओछ्यानमा थलिएको एक वर्ष बित्यो । द्वन्द्वपीडितसमेत रहेका बस्नेत पेट सुनिने, छाती दुख्ने, स्वासप्रस्वास गर्न नसक्नेलगायतका रोगका कारण थला परेका हुन् । आर्थिक अभावमा उपचार नपाई जीवनमरणको दोसाँधमा पुगेका बस्नेतले आफ्नो जीवन रक्षाको याचना गरेका छन् ।
उनी दूधे बालक हुँदा नै २०५५ सालमा माओवादी विद्रोहीको आरोपमा बाबु जीतबहादुरको हत्या भयो । बाबुको हत्यापछि आमा तिलुले दोस्रो विवाह गर्दा उनी घरमा एक्ला टुहुरा बनेका थिए । घरकै एक्ला बस्नेत भेरी त्रिवेणी माध्यमिक विद्यालय, रिम्नामा ९ कक्षामा अध्ययनरत विद्यार्थी पनि हुन् । छिमेकीको सहयोगमा हुर्कने र पढाइलाई अघि बढाएको बस्नेतले बताए । तर बिरामीका कारण उनको पढाइमा समेत बाधा पुगेको छ । उनी हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा छन् । साहाराबिहीन बस्नेतको घर भत्केर भग्नावशेषमा परिणत भएको छ ।
गत वर्षदेखि बिमारले थलिएका उनी यतिबेला जीवनमरणको दोसाँधमा रहेका छन् । छिमेकीले खाने लाउने व्यवस्था मिलाए पनि आर्थिक अभावमा उपचार हुन सकेको छैन । स्थानीयको १० हजार रुपैउाँ आर्थिक सहयोगमा उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा भर्ना भए पनि यहाँ उनको उपचार हुन सकेन ।
अस्पतालमा उनको रोग पहिचान पनि हुन नसक्दा झन् समस्या परेको छ । अस्पतालले उनलाई बाहिर पठाएको छ । रोगले ग्रस्त उनलाई गाउँलेले खाने बस्ने व्यवस्था मिलाए पनि उपचारका लागि कतैबाट सहयोग हुन सकेको छैन । माओवादी पार्टीका नेता र सरकार दुवैले द्वन्द्वपीडित बालकको उपचारमा ध्यान नपु¥याएको स्थानीय डण्डवीर रानाले गुनासो गरे । रासस