रामेछापमा बस दुर्घटना, ७ जनाको मृत्यु (नामावली सहित)

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ८:५७ मा प्रकाशित

Ramechhap

मन्थली, १७ मंसिर–रामेछापको सुखाजोर गाविसको पालेबन भन्ने स्थानमा सोमबार विहान यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रामेछाप रामपुर गाविस–३ का ८५ बर्षीय सन्तबहादुर श्रेष्ठ, ओख्रेनी–४ का २५ बर्षीया जानुका श्रेष्ठ, रामपुर–५ का ५० बर्षीया कमला तामाङ, रामपुर–२ का ५५ बर्षीय निरबहादुर तामाङ, रामपुर–२ कै ५० बर्षीय दोजराज तामाङ र रामपुर–१ का ६० बर्षीय महाविर माझी रहेका छन् । अर्का एकजनाको भने सनाखत नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।

रामपुर गाविसको च्यास्कुबाट सदरमुकाम मन्थलीका लागि छुटेको अरनिको यातायातको बा २ ख ३१६६ नम्बरको बस विहान साढे ८ बजे सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । घाइतेहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ ।

बसको ठक्करबाट दुईजनाको मृत्यु

यसैबीच रामेछापको मन्थलीबाट सेलेघाट जाँदै गरेको बा २ ख ३२६३ नम्बरको बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली–७ का २२ बर्षीय उपेन्द्र कार्की र अर्का एक युवक छन् ।
बस चालक पूर्णबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us