
नेपालगञ्ज, १५ मंसिर– शान्ति वार्तामा आएर हतियार बुझाइसकेको भूमिगत समूह जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका नेता भगत सिंहले चिनिने अर्जुन सिंहलाई पक्राउ गरी बाँके प्रहरीले सार्वजनिक गरेको छ ।
उनलाई नेपाल–भारत सीमा जमुनाह नाकछेउ दशगजाबाट शुक्रबार साँझ पक्राउ परेका सिंहलाई सार्वजनिक गर्दै ५ वटा ज्यान मुद्धासहित १८ वटा फौजदारी मुद्धाको अभियोगसहित कारवाही अगाडि बढाउने पध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक राजेन्द्रसिंह भाण्डारीले जानकारी गराएका छन् ।
पक्राउ परेका सिंहलाई कर्तव्य ज्यान, शरीर बन्धक, विष्फोट लगायतका अभियोगमा मुद्धाको प्रक्रिया अगाडि बढाउन लागिएको हो । उनलाई अञ्चल प्रहरी कार्यालय भेरीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।
हतियार बुझाएपनि उनीमाथिको मुद्धा फिर्ता नभएका कारण शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो । उनले डा. बाबुराम भट्टराईको सरकार हुँदा हतियार बुझाएर शान्ति प्रक्रियामा आएका थिए । तर सरकारले सिंहमाथिको मुद्धा भने फिर्ता लिएको थिएन ।
सिंहका परिवारले भने शान्ति प्रक्रियामा आइसकेपछि पक्राउ गरेकोमा आपत्ति जनाउँदै जीवन रक्षाका लागि मानअधिकारकर्मीसँग अनुरोध गरेका थिए । उनी भारतीय सीमावर्ती बजार रुपडियामा बस्दै आएका थिए ।
सिंहलाई मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएका विशेष टालीले पक्राउ गरेको हो । निर्वाचनअघि सो समूहले फोरम लोकतान्त्रिकसँग एकता गर्ने सहमति समेत जनाएको थियो ।
निर्वाचन अघि नै सिंहका समूहले शान्ति वार्तामार्फत हतियार बुझाएर संविधानसभाको निर्वाचनमा आउने इच्छा देखाएको थियो । समूहले आफ्ना नेता तथा कार्यकर्तामाथिको मुद्धा फिर्ता लिएर निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासन अगाडि धर्ना समेत दिएका थिए ।