
म्याग्दी, १५ मंसिर– म्याग्दीको बगुवाखोलास्थित बालजागृति प्राविमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत छात्रा कमला बरुवाल अस्ट्रेलियाको न्यू क्यासलमा हुन लागेको स्पेसल ओलम्पिक्स एसिया प्यासेफिक खेलकुद प्रतियोगिताका लागि छनोट भएकी छिन् ।
१५ वर्षीया बरुवाल सन् २०१३ को २८ नोभेम्बरदेखि ७ डिसेम्बरसम्म हुने उक्त प्रतियोगितामा सहभागिताका लागि छनोट भएर त्यसतर्फ गइसकेको विद्यालयका प्रधानाध्यापक भक्त कार्कीले बताए । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीबाट बरुवाल छनोट हुनु गर्वको कुरा हो, विद्यालयका प्रअ कार्कीले भने, ‘अपाङ्गता भएका बालबालिकाले अवसर पाएमा सपाङ्गसरह गर्न सक्छन् भन्ने कुरालाई बरुवालले पुष्टि गरेकी छन् ।’
अर्थुङ्गे–१ जलेश्वरमा घर भएकी बरुवाल मुलुकभरबाट अन्य चार बालबालिकासँगै प्रतियोगितामा सहभागिताका लागि छनोट भएकी हुन् । बौद्धिक अपाङ्गता भएकी बरुवालमा दौड, बोस्सीलगायत एथलेटिक्ससम्बन्धी खेलकुद क्षमता छ । छनोट समितिले जिल्ला, क्षेत्र र राष्ट्रव्यापी रुपमा विभिन्न तहमा अपाङ्गता भएका बालबालिकाबीचमा प्रतिस्पर्धा गराएर उत्कृष्ट खेलकुद क्षमता भएकालार्ई मात्रै छनोट गरेको जनाएको छ ।