
काठमाण्डु, १४ मङ्सिर–संयुक्त राष्ट्रसंघको आब्हानमा सुडानमा शान्ति स्थापनाका लागि १४० जना प्रहरी त्यसतर्फ प्रस्थान गरेका छन ।
प्रहरी उपरीक्षक तारणीप्रसाद लम्सालको नेतृत्वमा सुडानको डार्फर मिसनमा खटिई जानेहरुमा प्रहरी नायव उपरीक्षक दुई, प्रहरी निरीक्षक १०, प्रहरी नायव निरीक्षक १९, प्रहरी सहायक निरीक्षक ३६, प्रहरी हवल्दार ४८, प्रहरी जवान १७ र प्रहरी परिचर सात गरी कुल १४० जना छन ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सुडान डार्फरस्थित एफपियु युनामिड् मिसन १० औँ समूहमा खटिई जाने प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा शुभकामनासहित बिदाई गरेका थिए । बिदाई भई जाने प्रहरी टोलीको प्रहरी महानिरीक्षक अर्यालले निरीक्षण गर्नुका साथै टोली कमाण्डरलाई राष्ट्रिय झण्डा प्रदान गरेका थिए ।
प्रहरी महानिरीक्षक अर्यालले सोही समारोहमा बहालवाला तथा अवकाश प्राप्त प्रहरीका सन्ततिलाई छात्रवृत्ति तथा भिन्न क्षमता भएका बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीलाई चार पाँग्रे स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । रासस