सभासदले भने-एक वर्षभित्र नयाँ संविधान

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ५:०१ मा प्रकाशित

पोखरा, १४ मंसिर–कास्कीका चार निर्वाचन क्षेत्रबाट संविधानसभामा निर्वाचित सदस्यहरुले एक वर्षभित्र नयाँ संविधान जारी गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो राजनीतिक दलले उम्मेदवार बनाएर संविधानसभामा विजयी भए पनि आफूहरूले साझा जनप्रतिनिधिको रुपमा काम गर्ने उनीहरूले बताए ।

यसअघि दलहरूबीच भएको १२ बुँदे शान्ति सम्झौताअनुसार सहमति नभई साझा दस्तावेज बन्न नसक्ने उनीहरूको भनाइ थियो । लोभ, लालच र प्रलोभनमा नपरी जिल्लाका विकास निर्माणमा छुट्टाइएको बजेट सदुपयोग गर्ने कटिबद्धता पनि उनीहरूले व्यक्त गरे ।

नेपाली काँग्रेसबाट टिकट पाएर कास्की क्षेत्र नं. १ बाट निर्वाचित संविधानसभा सदस्य यज्ञबहादुर थापाले एक वर्षभित्र नयाँ संविधान दिन नसके मुलुकका लागि दुर्भाग्य हुने र देशमा कहाली लाग्दो सङ्कट उत्पन्न हुने बताए ।

कास्की क्षेत्र नं. २ बाट निर्वाचित नेपाली काँग्रेसकी शारदा पौडेलले ‘शान्ति र संविधान नेपाली काँग्रेसको अभियान’  भन्ने मूल मन्त्र लिएर जनताको घरदैलोमा पुगेकोले आफूले सोहीअनुसार काम गर्ने बताइन् । चालिस वर्षअघि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर अधिग्रहण गरिएको जमिनमा अहिलेसम्म पनि विमानस्थल बन्न सकेको छैन भन्दै उनले यसका लागि आफू लागि पर्ने प्रतिबद्धता पनि जनाइन् ।

नेकपा एमालेबाट टिकट पाएर कास्की क्षेत्र नं. ३ बाट निर्वाचित रवीन्द्र अधिकारी र ४ बाट ४ बाट निर्वाचित सीता गिरीले पनि आफ्नो पार्टीको घोषणापत्रअनुसार बहुपहिचान र सामर्थको आधारमा संविधान निर्माणमा प्रतिबद्ध रहने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us