
दमक, १३ मङ्सिर–संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले अघिल्लो सविधानसभामा भएका सहमतिलाई संस्थागत गरी अबको एक वर्षभित्र संविधान जारी गर्न सकिने बताएका छन ।
झापाको दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा एमालेका नेतासमेत रहेका नेम्वाङले विगतको संविधानसभामा रहेका विवादित विषयमा केही बुँदा थपघट गरी सहमति जुटाउन सकिने बताए । सहमतिका आधारमा निर्वाचनसमेत सफल भएका कारण अब दलबीच पनि सहमतिका आधारमा नयाँ सविधान जारी गरिनुपर्नेमा उनले जोड दिए ।
उनले भने,‘अब जनादेशलाई सम्मान गरेर मुलुक समृद्ध बनाउनेतर्फ जुट्नुपर्छ ।’ सहमतीय आधारमा नयाँ सरकार बन्नुपर्ने बताउँदै उनले भने ‘जनताले सहमतिमा सरकार बनाऊ भन्ने आदेश दिएका छन्, यसलाई सबैले मान्नुपर्छ ।’ अबको सरकारको नेतृत्व पनि सहमतिमा बन्ने उनले बताए । रासस