दुवै माओवादीलाई मिलाएर लान्छु: सुशील

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ११:५७ मा प्रकाशित

चितवन, ९ मंसिर– काँग्रेस सभापति सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा दुवै माओवादीलाई समेटेर जानुपर्ने बताएका छन् ।
sushilसंविधानसभा निर्वाचनमा बाँके–३ र चितवन–४ बाट निर्वाचित कोइरालाले आइतबार राजधानी फर्कनुअघि भरतपुरस्थित विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै एकीकृत माओवादी र नेकपा–माओवादीलाई सहमतिमा ल्याएर अघि बढ्ने बताए ।

उनले दुवै माओवादीलाई पाखा लगाएर संविधान पनि नबन्ने र मुलुकले निकाससमेत नपाउने स्पष्ट गरे । उनले दुवै माओवादीका अध्यक्षहरु परिपक्व र मुलुकको भविष्प्रति चिन्तित रहेको भन्दै सहमतिमा आउने विश्वास गरे ।

कोइरालाले काँग्रेस बढी सिट जितेर ठूलो दल बन्दैमा नमात्तिने बताए । उता वरिष्ठ नेता शेरबहादुर देउवाले पनि एकीकृत माओवादी र नेकपा–माओवादीलाई सहमतिमा ल्याउनै पर्ने बताएका छन् ।

संविधानसभा निर्वाचनमा कैलाली–६ र डडेलधुरामा विजयी भएका देउवाले आइतबार धनगढीमा भएको पत्रकार सम्मेलनमा सहमतिका साथ अघि बढ्नुको विकल्प नरहेको बताए ।

नेपालमा संविधानसभाको तेस्रो निर्वाचन असम्भव भएकाले सबै मिलेर एक वर्षभित्र संविधान जारी गर्नेपर्ने देउवाको भनाइ थियो । देउवाले समानुपातिकतर्फको अन्तिम नतिजा आइसकेपछि मात्र सरकोको नेतृत्व कसले गर्ने भन्नेबारे पार्टीमा छलफल चल्ने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us