‘जर्नी टु वल्र्डकप क्रिकेट’ मङ्सिरको दोस्रो हप्तामा

काठमाण्डु टुडे २०७० मंसिर ८ गते २:४४ मा प्रकाशित

काठमाण्डु, ७ मङ्सिर–न्युजिल्यान्डमा आगामी जनवरीमा हुने विश्वकप छनोटको तयारीका लागि यही मङ्सिर १७ देखि २२ गतेसम्म ‘सगरमाथा सिमेन्ट जर्नी टु वल्र्डकप क्रिकेट’ प्रतियोगिता काठमाण्डुमा हुने भएको छ ।
प्रतियोगितामा नेपाल, सिङ्गापुर, एयर इन्डिया र दिल्ली वन्डर्स गरी चार टोलीको सहभागिता रहनेछ । नेपाल क्रिकेट सङ्घले प्रतियोगिता आयोजनाको जिम्मा जोहरा इन्टरनेसनल प्रालिलाई दिएको छ ।
युएईमा २० ओभरको विश्वकप छनोट प्रतियोगितामा खेलेर फर्केका खेलाडीहरुलाई ५० ओभरको खेल शैलीमा ढाल्न तथा विश्वकपको तयारी गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक जोहरा इन्टरनेसनलका कार्यकारी निर्देशक आमिर अख्तरले बताए ।
नेपाली टोलीका पूर्व कप्तान तथा प्रतियोगिताका टेक्निकल डाइरेक्टर विनोद दासले भारतबाट आउने टोलीमा भारतका ठूला प्रतियोगिताहरु आइपिएल र रणजी ट्रफी खेल्ने खेलाडीहरु आउने जानकारी दिए ।
मुख्य प्रायोजक सगरमाथा सिमेन्टका मार्केटिङ मेनेजर प्रतीक अधिकारीले भने ‘नेपाली क्रिकेट टोली अहिले ठूलो अभियानमा रहेकाले त्यसमा सहयोगी बन्न पाउँदा आफूलाई खुसी लागेको छ ।’ यो प्रतियोगितामा करिब रु ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us